काठमाडौं । धेरै मानिसहरु कर्म गर्छन तर फलको आश गर्दैनन् । तर अर्का थरी मानिसहरु भाग्यमा भरोसा राख्छन् ।

कहिलेकाँही भाग्य जुनसुकै बेला बदलिन सक्छ । भारत, मुम्बईको एक परिवारमा यस्तै भएको छ । फेशन ब्रान्ड चराघ दिनका मालिकले २२ वर्षअघि चोरी भएको सुन फिर्ता पाएका हुन् ।

उक्त सुनको मूल्य १२ करोड ७४ लाख रुपैयाँ भन्दा धेरै छ । सत्र न्यायाधीश युजीमोरको इजलासले ५ जनवरीमा सुन राजु दासवानीलाई फिर्ता गर्ने फैसला गरेको थियो ।

चोरी भएको सामानमा महारानी भिक्टोरियाको तस्बिर भएको सुनको सिक्का, दुईवटा सुनको ब्रेसलेट, १३०० ग्राम र २०० मिलिग्राम तौलका दुईवटा इन्गटहरू रहेका छन् ।

१३ वर्षअघि सम्पूर्ण वस्तुको मूल्य २० लाख आसपास थियो, तर अहिले त्यो बढेर झण्डै १३ करोड पुगेको हो । राजु दासवानीले उक्त सम्पत्ति आफ्नो परिवारको रहेको प्रमाणित गरी बिल र रसिद पेस गरेका थिए ।

न्यायाधीशले भने,‘ यस्ता सामान र विशेष गरी सुनका वस्तुहरू प्रहरी हिरासतमा राख्नुको कुनै अर्थ छैन । १९ वर्ष नाघिसकेको छ । फरार अभियुक्त पनि अझै पक्राउ परेका छैनन् ।

उजुरीकर्ताले सम्पत्ति पाउन वर्षौं लाग्ने हो भने न्याय र कानूनको मजाक उडाउनु बराबर हो ।’ द टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार सरकारी वकिल इकबाल सोलकर र कोलाबाका प्रहरी निरीक्षक सञ्जय डोनरले सुन फिर्ता गर्न कुनै समस्या नभएको बताएका छन् ।

८ मे १९९८ मा कोलाबास्थित अर्जन दासवानीको घरबाट हतियारधारी गिरोहले सुन चोरेको थियो । अपराधीले सेक्युरिटी गार्डलाई कुटपिट गरी तिजोरीको चाबी खोसेपछि गिरोहले दासवानी र उनकी श्रीमतीलाई बाँधेर लुटपाट गरेको थियो ।

सन् १९९८ मा नै गिरोहका तीन जना अभियुक्त पक्राउ परेका थिए । उनीहरुबाट लुटिएका केही सामान बरामद गरिएको थियो । परीक्षण पछि, सबै तीन जना १९९९ मा रिहा भएका हुन् ।

अन्य तीन अभियुक्त अझै फरार छन् । अर्जन दासवानीको सन् २००७ मा निधन भएको थियो । अदालतले तस्बिर खिच्न र हस्तान्तरणको विस्तृत प्रतिवेदन तयार गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

राजु दासवानीका वकिलले अदालतको यो आदेश सुनेर परिवारले राहतको सास फेर्ने बताएका छन् । चोरी भएको सामान पुर्खाको हो र यस वस्तुमा परिवारका सदस्यको भावना जोडिएको हुन्छ ।

राजु दासवानी र उनका दुई बहिनीहरू सम्पत्तिका कानूनी उत्तराधिकारी हुन् । अमेरिकामा बस्ने दिदीबहिनीले नो अब्जेक्सन सर्टिफिकेट दिएका छन् ।

 

सम्बन्धित खबरहरु