काठमाडौं । पोलिनेशियाली देश टोङ्गा टापुमा शनिबार पानीमुनि शक्तिशाली ज्वालामुखी ब्लाष्ट भएको छ ।

ब्लाष्ट यति शक्तिशाली थियो कि यसको खरानीले २० किलोमिटर ढाकेको थियो । उक्त ब्लाष्ट टाढाबाट पनि देख्न सकिन्थ्यो । खरानी र ढुङ्गाका स–साना टुक्रा टोङ्गामा झरेको बताइएको छ ।

ज्वालामुखी ब्लाष्टपछि फिजी र न्यूजिल्याण्डमा सुनामीको चेतावनी पनि जारी गरिएको छ । ब्लाष्टपछि टोङ्गामा सुनामी आएको हो ।

टोङ्गा सरकारले मानिसहरूलाई समुद्रबाट सकेसम्म टाढा जान चेतावनी जारी गरेको छ । विस्फोटको तस्बिरहरू स्याटेलाइटबाट लिइएको छ । रिपोर्टका अनुसार स्थानीय समय अनुसार शनिबार साँझ ५ः१० बजे ज्वालामुखी ब्लाष्ट भएको थियो ।

२० मिनेटपछि, सुनामी आएको जानकारी दिइएको छ । समुद्रका छालहरू सडक, घर र भवनहरूमा पुगेको बताइन्छ । टोङ्गा निवासी मेरे तौफाले आफू खाना खान जाँदा ज्वालामुखी ब्लाष्टका कारण घर नराम्ररी हल्लिएको बताइन् । घर र जमिन सबै हल्लिरहेको उनलाई सम्झाना छ ।

उनका अनुसार त्यो धेरै पटक भयो । उनको कान्छो भाइ वरिपरि शत्तिशाली ब्लाष्ट भएको अनुमान गरिरहेका थिए । आकाशमा खरानी र समुन्द्रमा सुनामी आएपछि टोङ्गामा हवाई सेवा तुरुन्तै बन्द गरियो ।

टोङ्गा भूर्गव केन्द्रका अनुसार ब्लाष्टको दायरा करिब २६० किलोमिटर रहेको छ । यस टापु नजिकैको ज्वालामुखी गत वर्षको डिसेम्बरदेखि लगातार ब्लाष्ट भइरहेको छ । तर यसपटक ज्वालामुखीमा निकै शक्तिशाली ब्लाष्ट भएको हो ।

परिवारसँग खाना खान बसिरहेका एकप्रत्यक्षदर्शीका अनुसार छिमेकीको घर बलियो छालले भत्काएको थियो । अर्को एकजनाले छाल निरन्तर बढ्दै गएपछि हजुरआमाको ज्यान बचाउन छतमा लैजानुपरेको सम्झेका छन् ।

टोङ्गा दक्षिणी प्रशान्त महासागरमा अवस्थित एक पोलिनेशियन देश हो । यो १६९ टापुहरूको समूह हो, जसमध्ये ३६ वटा समुदायका मानिसहरु बसोबास गर्छन् ।

यस देशको जनसङ्ख्या एक लाखभन्दा बढी छ र यस देशलाई टोङ्गा राज्य भनेर चिनिन्छ । टोङ्गामा संवैधानिक राजतन्त्र छ । त्यहाँ राजाको विरुद्धमा केही बोल्न पाइँदैन ।

 

सम्बन्धित खबरहरु