काठमाडौ । खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाईन ठगी गरेको अभियोगमा पर्सा छिपहरमाई गाउँपालिका-२ ठेगाना भएका २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितहरुलाई आफ्नो मोबाईलबाट फोन सम्पर्क गरी आफू खल्ती एप्सको कर्मचारी भएको तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा ओटिपी कोड आउँछ, उक्त ओटिपी कोड अरु कसैलाई नदिई टिपाउनु भनी पीडितहरुलाई विश्वासमा पारी ओटिपी कोड लिई पीडितकै खल्ती आईडी खोली विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम विभिन्न व्यक्तिहरुको नागरीकताको फोटोकपी पेस गरी आईएमई तथा सिटी एक्स्प्रेस मनि ट्रान्सफरबाट निकाली अनलाईन ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

अवैध औषधि सहित २ जना पक्राउ
मोरङ । रतुवामाई नगरपालिका-९ भौडाबाट २ हजार ट्याब्लेट अवैध औषध ट्रामाडोल हाईड्रोक्लोराइड क्याप्सुल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनवर्शी नगरपालिका-६ बस्ने ३२ वर्षीय श्रवणकुमार ताजपुरीया र सुनवर्शी नगरपालिका-७ बस्ने ३० वर्षीय कार्तिक चन्द दास रहेका छन् ।

प्रदेश १-०२-०४६ प ७८६९ नम्बरको मोटरसाईकलमा सवार उनीहरूलाई प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसान्धानको लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइने ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

नियन्त्रित लागूऔषध सहित पक्राउ
ललितपुर । ललितपुर महानगरपालिका-८ बालकुमारीबाट नियन्त्रित लागूऔषध ९७ एम्पुल डाईजेपाम, ९७ एम्पुल नुर्फिन र ९७ एम्पुल फेनारगन सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गौशाला बस्ने भारत घर भएका २४ वर्षीय अजित राम र बारा घर भएका २१ वर्षीय अनिल कुमार राय रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु