काठमाडौं । कलाकारबाट समाजिक काममा लागेका धुर्मुस–सुन्तलीका लागि संकट थप बढेको छ ।

चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै उनीहरुको फाउण्डेसनविरुद्ध उजुरी परेको छ ।

रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी प्राप्त भई दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले विभिन्न दातृ निकायको सहयोग, विदेशमा रहेका नेपालीहरुको सहयोग तथा सरकारी संयन्त्रको रकम समेत हिनामिना भएको भएको आरोप लगाएका छन् ।

विभिन्न व्यक्ति एवं संस्थाहरुको सहयोगमा बन्दै गरेको रंगशालामा खर्च भए बराबरको काम नभएको र फाउण्डेसनले नै भ्रष्टाचार गरेको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले यसबारे जानकारी दिनुभयो । उक्त उजुरी दर्ता भएको र अब अनुसन्धान सुरु हुने भण्डारीले जानकारी दिनुभयो ।

धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउने भनेको रंगशालामा हालसम्म ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको बताइन्छ । रंगशालाको भौतिक प्रगति भने जम्मा १४ प्रतिशत मात्रै रहेको छ ।

करिब ३ अर्ब लागतमा बनाउने भनिएको रंगशालामा अनुमान गरिए अनुसारको सहयोग प्राप्त नभएको र आफूहरुलाई १७ करोड ऋण लागिसकेको भन्दै धुर्मुस–सुन्तली फाउण्डेसनले स्वामित्व ग्रहण गरिदिन भरतपुर महानगरलाई आग्रह गरेपछि भ्रष्टाचार सम्बन्धी कुरा बाहिर आएको हो ।

सम्बन्धित खबरहरु