काठमाडौं । कोरोना महामारीको समयमा धनी र गरिबबीचको खाडल पहिलेभन्दा गहिरो भएको छ ।

धनी झन् धनी बन्दै गएका छन् र गरिबीको रेखामुनि रहेका मानिसको संख्या पनि बढेको छ । परोपकारी संस्था अक्सफामको रिपोर्टमा यो कुरा बाहिर आएको हो । प्रतिवेदनले विश्वमा चरम गरिबीका कारण दैनिक २१ हजार मानिसको मृत्यु हुने गरेको दाबी गरेको छ ।

योसँगै विश्वका १० धनी व्यक्तिको सम्पत्ति मार्च २०२० देखि दोब्बरले बढेको छ । अक्सफ्यामले सामान्यतया डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकको सुरुमा विश्वव्यापी असमानताको बारेमा रिपोर्ट जारी गर्छ ।

वार्षिक कार्यक्रममा सामान्यतया हजारौं कर्पोरेट र राजनीतिक नेताहरू, सेलिब्रेटीहरू, अर्थशास्त्रीहरू र पत्रकारहरू स्विस स्की रिसोर्टमा प्यानल छलफलको लागि भेला हुन्छन् ।

तर, यो साताबाट सुरु हुने यो कार्यक्रम लगातार दोस्रो वर्ष अनलाइन हुनेछ । अक्सफामका प्रमुख कार्यकारी ड्यानी श्रीस्कन्दरजाहले भने कि परोपकारी संस्थाले आर्थिक, व्यापार र राजनीतिक अभिजात वर्गको ध्यानाकर्षण गर्न डाभोस कार्यक्रमको समयको बारेमा रिपोर्ट जारी गरेको छ ।

उनले भने, ‘यो वर्ष जे भइरहेको छ त्यो असाधारण छ । यो महामारीको समयमा पनि हरेक दिन नयाँ करोडपति बनिरहेको छ ।’ रिर्पोट अनुसार यसैबीच लकडाउन, कम अन्तर्राष्ट्रिय व्यापार, कम अन्तर्राष्ट्रिय पर्यटनका कारण विश्वको ९९५ जनसंख्या नराम्ररी प्रभावित भएको छ ।

त्यसको परिणामस्वरुप करिब १६ करोड नयाँ मानिस गरिबीमा धकेलिएका छन् । जसले हाम्रो आर्थिक प्रणालीमा ठूलो कमी रहेको देखाउँछ ।

फोर्ब्सको तथ्याङ्क अनुसार विश्वका १० धनी व्यक्तिहरूमा एलोन मस्क, जेफ बेजोस, बर्नार्ड अर्नाल्ट, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेई ब्रिन, मार्क जुकरबर्ग, स्टिभ बाल्मर र वारेन बफेट रहेका छन् ।

सम्बन्धित खबरहरु