काठमाडौ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निरन्तर उकालो लागि नै रहेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित थपिएर सक्रिय संक्रमितमा झनै बृद्धि भएको छ । योसँगै त्यहाँ हालसम्म कोभिड संक्रमितको संख्या कुल तीन करोड ७३ लाख ८० हजार पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमितको ज्यान गएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक थपिएका मृतकको संख्यासँगै भारतमा हालसम्म कुल ४ लाख ८६ हजार ४५१ जना संक्रमितको ज्यान गएको छ ।

यसबाहेक, कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या एक दिनमा ६.०२ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टामा ४६६ जना ओमिक्रोन भेरियन्टका संक्रमित थपिएसँगै यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार २०९ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

भारतमा तेस्रो लहरसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ रहेको छ भने निको हुने दर ९४.२७ छ । साथै, दैनिक संक्रमण दर १९.६५ प्रतिशत रहेको छ ।

भारत सरकारले कोभिड–१९ को खोप लगाउन सुरु गरेको १ वर्ष पुरा भएको छ । त्यस अवधिमा एक अर्ब ५७ करोडभन्दा बढी खोपको डोज लगाइ सकिएको छ ।

सम्बन्धित खबरहरु