काठमाडौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिन बुस्टर डोज खोप दिन थालेको छ ।

काठमाडौँका २० स्थानबाट आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको हो । यसअघि आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो ।

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने छ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौँका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । यस्तै, आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।

बुस्टर डोज लगाइने केन्द्र

यो खोप सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगंज, वीर अस्पताल, शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाइन्छ।

त्यसैगरी, छाउनी, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँ बानेश्वर, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जडीबुटी, काठमाडौं मोडल अस्पताल, प्रदर्शनीमार्ग, जनमैत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि सो खोपको मात्रा लगाउने व्यवस्था गरिएको छ।

सम्बन्धित खबरहरु