काठमाडौं । लामो समयदेखिको विवादका रूपमा रहेको प्रदेश २ को स्थायी राजधानी टुंगो लागेको छ । जनकपुरधाम प्रदेश २ को स्थायी राजधानी बनाउने कुरामा टुंगो लागेको हो ।

सोमबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाई मतबाट प्रदेश २ को स्थायी राजधान जनकपुरधाम टुंगो लगायो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावनमा ७८ मत परेको हो ।

प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी हुनुभएको थियो । जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गर्नुभएको थियो ।

सोमबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत जनकपुर राजधानी बनाउनुपर्ने पक्षमा परेकाले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम भएको सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो । प्रदेशसभा भएका १ सय ४ कुल सदस्यमध्ये ९९ जना मात्र मतदानमा सहभागी हुनुभयो ।

९९ जनामध्ये जनकपुरधाम राजधानीको पक्षमा ७८ मत खसेको र उक्त संख्या दुई तिहाइ बहुमतभन्दा धेरै भएको सभामा जानकारी गराइएको थियो ।

उत्तरमा धनुषा ढल्केवरको पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भूभाग प्रदेश २ को राजधानी कायम भएको सभामुखले जानकारी गराउनुभयो ।

जनकपुरधाममा दुई तिहाइभन्दा धेरै बहुमत परेकाले वीरगञ्जलाई राजधानी बनाउने प्रस्ताव स्वतः निस्क्रिय भएको छ । जनकपुरधाम राजधानी भए पनि नाममा भने दलहरुबीच सहमति हुन सकेको छैन ।

सम्बन्धित खबरहरु