काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा भएको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो । रुपन्देही घर भइ चन्द्रागिरिस्थित कालापानीमा बस्ने निरज मगर भने घाइते हुनुभएको छ ।

हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि–५ स्थित किसिपीडीमा बस्ने १५ वर्षीय अनुज बस्नेत र २१ वर्षीय अभिषेक बस्नेत रहेका छन् ।

प्रवक्ता मैनालीले भन्नुभयो, ‘एक जनालाई आइतबारै पक्राउ गरिएको हो भने अर्कोलाई आज पक्राउ गरिएको छ ।’ आज पक्राउ पर्नेमा भागेर धादिङ पुगिसकेका व्यक्ति हुनुहुन्छ ।

प्रवक्ता मैनालीले भन्नुभयो,‘ बलम्बु प्रहरीमा आएको जानकारी अनुसार थानकोट प्रहरी, प्रहरी परिसर टेकुबाट खाटेको प्रहरीले घाइतेलाई उपचारका लागि बलम्बु अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।’ दुई जनालाई नियन्त्रणमा लिएर म्याद थप गरी कानुनी प्रक्रियामा अनुसान्धन सुरु भएको उहाँले बताउनुभयो ।

समान्य विवादमा झगडा हुँदा चक्कु हानेकाले रिजाल घाइते हुनुभएको थियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु