काठमाडौं । मंगलबार (भोलि) सार्वजनिक विदा दिइएको छ । प्रदेश नम्बर २ ले राजधानी र नाम पारित कायम भएपछि यस्तो घोषणा गरेको हो ।

मधेस प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले दुई तिहाइ मतसहित नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुर कायम गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको हो ।

प्रदेश २ को सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधामलाई बहुमतले पारित गरेको हो । प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भयो ।

आजको बैठकमा प्रदेशसभा सदस्यहरु शैलेन्द्र साह, शैलेन्द्र यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश हुनुपर्ने प्रस्ताव गरेपछि भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० र विपक्षमा १९ मत परेको थियो ।

त्यसैगरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फवाट प्रदेश सभा सदस्य परमेश्वर साहले राजधानी जनकपुरधाम राख्न गरेको प्रस्ताव माथि भएको मतदानमा राजधानी जनकपुरको पक्षमा ७८ मत परेपछि दुइतिहाई बहुमतले राजधानी जनकपुरधाम कायम गरिएको हो ।

उक्त प्रस्तावको विपक्षमा २१ मत परेको थियो । राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्तावमाथि प्रदेश सभामा उपस्थित ९९ जना प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो ।

सम्बन्धित खबरहरु