काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को सङ्क्रमणबाट जोगिन कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्यका मापदण्ड पालनाका साथै सचेतना पनि आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले कोभिड–१९ को नयाँ भेरियन्टले हाल जनस्वास्थ्यमा समस्या उत्पन्न गरेको उल्लेख गर्दै यसबाट बच्न कोभिड–१९ विरुद्धको खोप लगाउन, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा हात धुनेलगायतका सचेतनाको आवश्यकता औँल्याउनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आज यहाँ आयोजित नवौँ बैठकमा प्रधानमन्त्री देउवाले कोभिड–१९को सङ्क्रमण रोकथामबारे जनतामा सचेतना जगाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको बताउँदै यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले कोभिड–१९ बाट जोगिने सचेतनाबारे देशभरि अभियान चलाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै यसमा सहयोग गर्न सबै सङ्घसस्था तथा राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाँले बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप लागाउनुपर्ने देखिएको भन्दै त्यसका लगि आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभयो ।

कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट मृत्युदर कम भए पनि यो द्रूत गतिमा फैलिएकोप्रति सजग गराउँदै उहाँले भन्नुभयो, “खुला सिमानाबाट मानिसको आवतजावतले डरलाग्दो अवस्था आउन सक्छ, जनताको ज्यान जोगाउनु सरकारको पहिलो कर्तव्य हो, यसमा सबै लागौँ ।”

सिमानामा कोभिड–१९ को पर्याप्त मात्रामा परीक्षण गर्न र आवश्यक मात्रामा होल्डिङ सेन्टर तत्काल स्थापना गर्नुपर्ने बताउँदै उहाँले जनताको जीवन रक्षाका लागि आवश्यक मात्रामा कोभिड–१९ विरुद्धको बुष्टर डोज तत्काल खरिद गरी सहजताका साथ मुलुकभर वितरण गर्न निर्देशन दिनुभयो ।

सम्बन्धित खबरहरु