काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयका सीडीओहरुको बैठक बस्दैछ ।

बैठक बसेर थप आदेश जारी गर्ने तयारी भएको बताइएको छ । कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेपछि केही सेवा कटौती गर्ने तयारी प्रशासनको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिएका छन् ।

उनीहरुले अहिलेकै अनुपातमा उपत्यकामा कोरोना संक्रमण बढ्दै जाने हो भने जिल्ला प्रशासन कार्यालका सबै कर्मचारी र सेवा लिन आउने सबै सेवाग्राही संक्रमित हुने अवस्था आउने र त्यसले भयाभह अवस्था सृजना हुनेतर्फ सरकार सचेत हुनुपर्ने धारणा राखेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार कार्यालयमा कार्यरत २० जनामा कोरोना संक्रण पुष्टि भइसकेको छ भने १५ जनामा कोरोनाका लक्षण देखिएकाले उनीहरुलाई घरमै बसेर कोराना परिक्षण गर्न भनिएको छ ।

२ जना सहायक प्रमुख जिल्ला अधिकारी पनि भर्खरै मात्र संक्रमण मुक्त भएर कार्यालय फर्किनुभएको थियो । प्रजिअ गोविन्द रिजाल साता अघिदेखि नै होम आइसोलेसनमा हुनुहुन्छ ।

थप दुई जना प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी गरेर २० जनामा संक्रमण देखिएको छ अधिकारीले जानकारी दिनुभयो । यस्तै करिव १५ जनामा लक्षण देखिएको छ । ५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण भइसकेको हामीले अनुमान गरेका छौं उहाँले भन्नुभयो।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रमुख जिल्ला अधिकारीसहित ५० प्रतिशत कर्मचारीमा कोरोनाको संक्रमण भएको अनुमान गरेपछि कार्यालयबाट नियमित दिनुपर्ने कतिपय सेवा पनि बन्द गरेको छ ।

कार्यालयले मंगलबार साँझ एक सूचना जारी गर्दै नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि दिने, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीका लागि आवेदन लिने काम रोकेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रशासकीय अधिकृतसहित ३ जनामा संक्रमण
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अहिलेसम्म ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार सोमबार गरिएको परिक्षणका क्रममा एक जना प्रशासकीय अधिकृतसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ललितपुर जिप्रकामा एकजना संक्रमित
ललितपुर जिल्ला प्रशासनमा मंगलबार एकजना प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक जना शाखा अधिकृत कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ भने अरु एक दुई जनामा कोरोनाको लक्षण देखिएको प्रशासनले जनाएको छ ।

यो अवस्था आएपछि अब प्रशासनले अत्यावश्यक बाहेकका सेवा बन्द गर्नेछ । साथै सर्वसाधारणका लागि समेत थप आदेशको तयारी गरेको छ । अहिले लकडाउन, निषेधाज्ञा जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइएको छ । काठमाडौमा मन्त्रीपरिषद्ले अधिकार दिए अनुसार स्मार्ट लकडाउन जारी गरिसकिएको छ ।

 

सम्बन्धित खबरहरु