काठमाडौ । सिनियर लेभलको डेब्यु खेलमा बेलायती टेनिस खेलाडी ईमा राडुकानुले विजयी सुरुवात गरेकी छन् । मंगलबार मेलबर्नमा भएको अष्ट्रेलियन ओपन टेनिसमा उनले विजयी सुरुआत गरेकी हुन् ।

विश्व वरीयताको १७ औं स्थानमा रहेकी राडुकानुले सिनियर लेभलको डेब्युमा उत्कृष्ट प्रदर्शन गरिन् ।

अमेरिकी खेलाडी स्लोअनी स्टेफेन्सलाई हराउँदै उनले दोस्रो चरणमा स्थान बनाएकी छन् । राडुकानुले स्टेफेन्समाथि ६–०, २–६ र ६–१ को सेटमा जित निकालेकी हुन् ।

१९ वर्षीया राडुकानुले दोस्रो चरणमा डन्का कोभिनिचसँग प्रतिस्पर्धा गर्नेछिन् ।

रियल बेटिसको सहज जित

स्पेनिस ला लिगाको तेस्रो स्थानमा रहेको रियल बेटिसले रेलिगेसनको दबाबमा रहेको अलाभेसमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बेटिसले अलाभेसलाई ४–० गोलले हरायो ।

एकपक्षीय खेलमा बेटिसलाई जिताउन बोर्जा इग्लेसियस दुई तथा सर्जिओ कानालेस र जुआनमीले गोल गरे । बोर्जले ११औँ र ४१औँ मिनेटमा गोल गरेका थिए । सर्जिओले २९औँ र जुआनमीले ५४औँ मिनेटमा गोल गर्दै बेटिसलाई सानदार जित दिलाए ।

६१ प्रतिशत बल पोसेसन राखेको बेटिसले खेलभर १८ वटा पोस्ट प्रहार गरेको थियो । यता नौ वटा पोस्ट प्रहार गरेको पाहुना टोली अलाभसले गोलरहित हार खेप्यो । बेटिसका सर्जिओ कानालेस ‘म्यान अफ दि म्याच’ भए ।

जितसँगै बेटिसले २१ खेलबाट ३७ अङ्क बनाएको छ । पराजित अलाभेस १७ अंकसहित १८औँ स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४९ अङ्क छ । एक खेल कम खेलेको सेभिया ४४ अङ्क सहित दोस्रो स्थानमा छ ।

मंगलबार राति नै भएको अर्को खेलमा मध्यम टोली स्पान्योल रेलिगेसनमा रहेको काडिजसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

प्रतिस्पर्धात्मक खेलमा स्पान्योलका लागि मनु मोर्लानेस १०औँ मिनेटमा खाता खोले । त्यसपछि घरेलु टोली काडिजका अल्भारो नेग्रेडोले ५४औँ मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा इभान अलेजोले गोल गर्दै काडिजलाई अग्रता दिलाए ।

तर, इन्जुरी समयकै अन्तिममा स्पान्योलका राउल डे टोमसले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । बराबरीसँगै २१ खेलबाट २७ अङ्क बनाएको स्पान्योल ११औँ स्थानमा छ । समान खेलबाट १५ अङ्क बनाएको काडिज १९औँ स्थानमा छ ।

सम्बन्धित खबरहरु