झापा । झापाले सीमा विवाद टुंगियो भनेका क्षेत्रमा समेत सीमा मिचेको आफैले स्वीकारेको छ ।

दक्षिणी झापाको कचनकवल गाउँपालिका– ५ स्थित पाठामारी बासिन्दाको जग्गाधनी पुर्जा भएको नेपाली भूमि भारतले मिचेको विषयमा स्थानीय प्रहरी, प्रशासनसँगै भारतीय सुरक्षाकर्मीले समेत घटनाप्रति गम्भीरतापूर्वक चासो देखाउँदै भूमि मिचिएको स्वीकार गरेको हो ।

धनीपुर्जा नेपालको, हक भारतको शीर्षकमा समाचार आएपछि त्यसमा नेपालको प्रशासनले चासो देखाएको थियो ।

समाचार प्रकाशित भएको दुई दिनपछि बुधबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) १९ बटालियन कम्पनीका संयुक्त टोलीले सीमा विवाद देखिएको जग्गाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।

निरीक्षणमा पूर्जा नेपाली कै भएको तर भोगचलन भारतियले गरिरहेको प्रष्ट देखियो । यसलाई माथिल्लो निकायसम्म नै पत्राचार गरेर निर्णय लिने त्यहाँ सहमति भएको छ ।

​सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भक्तबहादुर थापा, बिओपी पाठामारीका सशस्त्र प्रहरी नायव निरीक्षक (सई) दिलीप श्रेष्ठ, प्रहरी चौकी पाठामारी प्रहरी सहायक निरीक्षक भरत कोइराला, भारतीय सीमा सुरक्षा बल (एसएसबी) १९ बटालियनका डिएसपी जयप्रकाश सिंह र पीडित जग्गाधनीसहित टोलीले विवादित जग्गाको निरीक्षण गरेपछि जग्गाधनी पीडित भएको निश्कर्ष निकाल्यो ।

जग्गा निरीक्षण गर्दै एसएसबीले जिपिएसबाट नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमाको रेखाङ्कन हेरेका थिए। जिपिएसले हाल नेपाली भूमिमा गाडिएको सीमा पिलर नदेखाएको उपस्थिति जग्गाधनीहरू बताउँछन्।

नेपाली भूमिमा गाडिएको ११२ र ९ देखि ११२ र १३ सम्मको सीमा पिलर शङ्कास्पद देखिएकोले घटनास्थलमै दुवै देशका सुरक्षाकर्मीबीच मौखिक भद्र सहमति भएको छ।

हाल जोत भोग गर्दै आएको जमिनमा नेपाली कृषकले नै खेतीपाती गर्ने, त्यस जमिनमा आएर एसएसबीले अवरोध नगर्ने र पुनः सीमा सर्वेका लागि दुवै देशका सुरक्षाकर्मीले माथिल्लो निकायमा लिखित पत्राचार गरेर विवादित जग्गाको टुङ्गो लगाउने विषयमा एक प्रकारको मौखिक सहमति भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीपजंग कार्कीले जानकारी दिनुभयो ।

 

सम्बन्धित खबरहरु