काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच केही सहज हुने विकासका खबर बाहिर आइरहेका छन् ।

यही क्रममा बेलायतका वैज्ञानिकलाई एउटा महत्वपूर्ण सफलता मिलेको छ । उनीहरुले एक्स–रे मेसिनमार्फत कोभिड परीक्षण गर्न सकिने विधि विकास गरेका छन् ।

युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्डका वैज्ञानिकहरूले एक्स–रेको प्रयोग गरी कोभिड परीक्षण गर्न सकिने विधि विकास गरेको डेली मेलले जनाएको छ ।

नयाँ आर्टिफिसिअल इन्टेलिजेन्स प्रोग्राम समेत भनिएको नयाँ परीक्षण विधिलाई सहजै पीसीआर उपलब्ध नभएको अवस्थामा प्रयोग गर्न सकिने छ ।

नयाँ परीक्षण विधिले पीसीआरभन्दा चाँडो भाइरस पत्ता लगाउन सक्ने समाचारमा उल्लेख छ । अर्थात् उक्त विधिमार्फत केही मिनेटमै कोभिड भए नभएको थाहा हुन्छ । त्यस्तै, यो विधि ९८ प्रतिशत सही रहेको पनि वैज्ञानिकहरूको भनाइ छ ।

‘कोभिड–१९ लाई चाँडो र भरपर्दो तरिकाले पहिचान गर्न सक्ने मेसिनको खाँचो देखिँदै आएको छ,’ अनुसन्धानको नेतृत्व गरेका प्राध्यापक नईम रमजानले भने, ‘ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि यस्तो आवश्यकता झन महसुस गरिएको छ ।’

नयाँ प्रविधिबाट चाँडै नै कोरोना भाइरस पत्ता लगाउन सकिने भएपनि संक्रमणको शुरुआती चरणमा एक्स–रे मेसिनले कोभिड–१९ का लक्षण नदेखाउने हुँदा पीसीआर परीक्षण पूर्ण रुपमा विस्थापित गर्न नसक्ने पनि रमजानको भनाइ छ ।

‘संक्रमणको प्रारम्भिक चरणमा एक्स–रेमा कोभिड–१९ का लक्षण देखिँदैनन्,’ उनले भने, ‘यही भएर यो प्रविधिले पीसीआर परीक्षणलाई पूर्ण रुपमा प्रतिस्थापन गर्न सक्दैन भनेर बुझ्नुपर्छ ।’

 

सम्बन्धित खबरहरु