काठमाडौं । गत वर्ष ६ जनवरीमा अमेरिकी संसदमा भएको हिंसाको अनुसन्धान गरिरहेको हाउस कमिटीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्कालाई पनि सोधपुछ गर्ने भएको छ ।

समितिका अध्यक्ष बेनी थम्पसनले बिहीबार इभान्कालाई पत्र पठाएका छन् । हिंसाका बेला इभान्का ह्वाइट हाउसमा वरिष्ठ सल्लाहकारका रूपमा काम गरिरहेकी थिइन् ।

उक्त पत्रमा समितिले ६ जनवरीको घटनामा उनीहरुको भूमिका के थियो भन्ने सम्बन्धमा नयाँ प्रमाण फेला परेको भन्दै छानबिन गर्न चाहेको बताएको हो ।

थम्पसनले भनेका छन्, ‘हामी तपाईंको गोपनीयताको सम्मान गर्छौं । हाम्रा प्रश्नहरू यस घटनासँग मात्र सम्बन्धित हुनेछन् ।’

समितिले ३/४ फेब्रुअरी वा ७ फेब्रुअरीमा बैठक बस्ने मिति प्रस्ताव गरेको छ । ट्रम्प परिवारका सदस्यलाई यस विषयमा छानबिन गर्न बोलाइएको यो पहिलो पटक हो ।

समितिले इभान्कालाई अन्य साक्षीमार्फत प्राप्त जानकारीका सम्बन्धमा पनि प्रश्न सोध्न चाहेको पत्रमा लेखेको छ ।

उदाहरणका लागि, प्यानललाई तत्कालीन उप–राष्ट्रपति माइक पेन्सका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार किथ केलोगले भनेका थिए, ६ जनवरीको बिहान डोनाल्ड ट्रम्पले पेन्ससँग फोनमा कुरा गरेका थिए ।

कुरा गर्दा उनी र इभान्का दुवै कोठामा थिए । केलोगले ट्रम्पले पेन्सलाई फोन कलमा भनेका थिए, ‘तिमीसँग कडा निर्णय गर्ने साहस छैन ।’

चुनाव पराजयको निर्णय भइसकेपछि पनि डोनाल्ड ट्रम्पले पेन्सलाई नतिजा उल्ट्याउन दबाब दिइरहेका थिए । ट्रम्पले पेन्सलाई भनेका थिए, ‘माइक, यो सत्य होइन । तपाईं यो गर्न सक्नुहुन्छ ।

यदि तपाईंले यसो गर्नुभएन भने, म बुझ्छु कि ४ वर्ष पहिले मैले गलत मान्छे रोजे ।’ केलोगले प्यानललाई यो पनि बताए कि फोनको अन्त्यमा, इभान्का उनीतिर फर्किन् र भनिन्, ‘माइक पेन्स राम्रो व्यक्ति हुन् ।’

समितिले इभान्काबाट के जान्न चाहन्छ ?
समितिले इभान्कासँग उनका बुबाले चुनावको मतगणनामा अवरोध पुर्‍याउने प्रयासको बारेमा थप जान्न चाहेको छ ।

हिंसा भएको दिन ह्वाइट हाउसका कर्मचारीले इभान्कासँग धेरै पटक सहयोग मागेको कुराबारे पनि जानकारी मागिएको हो । समितिले क्यापिटलमा भएको आक्रमणमा पूर्व राष्ट्रपतिको प्रतिक्रियाको बारेमा इभान्कासँग थप जानकारी चाहन्छ ।

६ जनवरीको हमलापछि पूर्वराष्ट्रपतिले के गरे भन्ने पनि जान्न चाहेको थियो । समितिले यो पनि जान्न चाहन्छ कि पूर्व राष्ट्रपति ट्रम्पले क्यापिटलमा नेसनल गार्ड तैनाथ गर्नमा के भूमिका खेले भन्ने कुरा जान्न चाहेको छ ।

सम्बन्धित खबरहरु