काठमाडौ । सरकारले खाडी राष्ट्रमा भिजिट भिसा (भ्रमण प्रवेशाज्ञा) जानका लागि रोक लगाएको छ।
भोलि माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश जारी नहुन्जेलसम्मका लागि रोक लगाइएको हो।
गृह मन्त्रालयले खाडी राष्ट्र र मलेसियामा गएर विचल्लीमा परेको समाचार आइरहेको भन्दै उक्त निर्णय गरेको जनाएको छ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिँदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसियामा गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरू प्राप्त भएकोले मिति २०७८ माघ १० गदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
भिजिट भिसामा गएर बिचल्लीमा परियो भन्नेहरुलाई स्वदेश फर्किनपनि सरकारले आग्रह गरेको छ । भ्रमण प्रवेशाज्ञा बनाएर अरुको देश पुगेर काम गर्न बस्नु गैर कानूनी कार्य भएकाले स्वदेश फर्किन सरकारले आग्रह गरेको हो । अब कहिले खुला गर्ने भन्ने कुनै निश्चित छैन ।
भिजिट भिसामा लगेर घरेलु कामदारको रुपमा शोषण गर्ने दलालहरु सक्रिय भएको खबर आएपछि सरकारले यो निर्णय गरेको हो ।
२ लाख देखि साढे २ लाख सम्म असुलेर भिजिट भिसामा युएई, मलेसिया पुर्याएर काम लगाईदिने गिरोह सक्रिय थियो ।
त्यसरी गएकाहरुले भनेजस्तो काम नपाउँने कामबाट आएको तलब समेत रोजगारदातासँग मिलेर स्थानीय दलालले खाइदिने । विदेश पुर्याएर विचल्लीमा पर्ने गरेका थिए । यी चित्कार सर्वत्र हुन थालेपछि मात्र सरकारले भिजिट भिसा बन्द गरिदिएको हो ।