काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा रहेको बताउनुभएको छ ।
मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको ज्यान लिने आशयको चेतावनी दिएपछि गृहमन्त्री खाणले यस्तो बताउनुभएको हो ।
मन्त्री यादवको अभिव्यक्तिमा प्रधानमन्त्री किन मौन भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कुरा हामी सबैले नोटिस राखेका छौं । हामी (मन्त्रीहरु) ले संविधान र विधिको पालनाप्रति गम्भीर बन्नुपर्छ ।’
सबैभन्दा पहिला संविधान र विधिको पालना सरकारले नै गर्नुपर्ने उहाँको भनाइ छ ।
‘त्यसकारण मन्त्रीको अभिव्यक्ति कानुन र विधिसम्मत हुनुपर्छ । विधि र कानुन सम्मत अभिव्यक्ति राख्दा राम्रो हुने हो,’ गृहमन्त्री खाणले भन्नुभयो ।