काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियो आएपछि उद्धारका लागि पहल गर्नुभएको छ ।

उहाँले उपचार र उद्धारका लागि पहल गरेपछि साउदी अरेबियास्थित नेपाली दूतावासले तत्कालै चासो दियो ।

शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो प्रकाशित भएको थियो ।

आइतवार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उहाँ रहेको स्थानमा गएर उहाँको अवस्थाबारे जानकारी लिएको छ ।

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लग्नुभएको सुखद खबर आएको छ ।

नेपाली दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो ।

आठमध्ये एकजना नेपाल फर्किसक्नुभएको छ भने अन्य छ जना मंगलवार नेपाल फर्कने तयारीमा हुनुहुन्छ ।

रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । तर, उहाँमाथि पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ ।

उहाँ बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दूतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताउनुभयो ।

रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताउनुभयो । जनबोलीलाई प्राप्त भिडियो यस्तो थियो ।

https://www.youtube.com/watch?v=7COzM1K6vKE

 

सम्बन्धित खबरहरु