काठमाडौं । यमनका हुथी विद्रोहीले प्रहार गरेका दुई ब्यालेस्टिक मिसाइललाई अबुधावीको आकाशमै ध्वस्त पारिएको दावी संयुक्त अरब एमिरेट्सले गरेको छ ।

गत सोमबार ती विद्रोहीले अबुधावीको एक तेल भण्डारण थलोमा ड्रोन आक्रमण गर्दा तीनजनाको मृत्यु भएको थियो ।

युएईको रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिलाई उध्दृत गर्दै सोमबार डब्लुएएम न्यूज एजेन्सीले जनाएअनुसार ध्वस्त पारिएका दुई ब्यालेस्टिक मिसाइलहरु युएईका अलग ठाउँहरुमा खसेका थिए ।

त्यहाँको रक्षा मन्त्रालयले आक्रमणविरुद्ध आफू तयार रहेको बताउँदै मुलुकलाई जोगाउन जुनसुकै कदम चाल्न तयार रहेको समेत जनाएको छ । साउदी अरेबियाको सरकारी मिडियाले जनाएअनुुसार हुुथीले प्रहार गरेका ब्यालेस्टिक मिसाइल साउदीको दक्षिणी भेगमा खसेको थियो ।

हुथी विद्रोहीहरुले आफूहरुले दुबईका महत्वपूर्ण र चर्चित थलो तथा अबुधावीस्थित धाफरा एयरबेसलाई लक्षित गरी ती मिसाइल प्रहार गरेको जनाएको छ ।

साउदीले आफूसँग त्यस्ता हमला निस्तेज गर्ने प्रतिरक्षात्मक हतियार रहेकाले शान्त र ढुक्कसँग बस्न नागरिकलाई भनेको छ । हामीले आएका ब्यालेस्टिक मिसाइल आकाशमा नै नष्ट गरेर सुरक्षित स्थानमा खसालेका छौ । यस्ता हतियार र मेसिन हामीसँग छ । यसैले ढुक्क भएर बस्दा हुन्छ । साउदी र दुबई सरकारले भनेको छ ।

हुथी विद्रोहीका प्रवक्ता याहा सारीले आफूहरुले लक्ष्य प्राप्त गरेको जनाउँदै लडाइलाई थप अघि बढाउने बताएका छन् ।

युएई हुथी विद्रोहीविरुद्ध साउदी अरबको नेतृत्वमा रहेको सैनिक गठबन्धनको एक सदस्य मुलुक समेत हो । यो लडाइमा दशौं हजारको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् भने राष्ट्रसंघले निकै खराब मानवीय संकट भएको जनाएको छ ।

 

सम्बन्धित खबरहरु