काठमाडौ । विश्वभरी छरिएर रहेका कौण्डिन्य गोत्रीयहरुको महासमाज (महासंघ) गठन भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौमा संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम संस्था दर्ता गरेर कौण्डिन्य गोत्रीहरुले बनाएका विभिन्न समाजहरुको छाता संस्था (महासंघ) को रुपमा कौण्डिन्य गोत्रीय महासमाज गठन भएको हो ।

महासमाजको संस्थापन अध्यक्षमा बन्जारा तथा बञ्जाडे समाजका अध्यक्ष अर्जुन प्रसाद बन्जारा चयन हुनुभएको छ ।

यो संस्थाको हरेक बर्ष साधारण सभा गर्नुपर्नेछ । साधारण सभाले नेतृत्व परिवर्तन देखि भावी रणनीति समेत तयार पार्ने हुन्छ । झण्डै चार दर्जन जातीय थरहरु रहेको कौण्डिन्य गोत्रीयहरुको भेलाबाट महासमाज गठन गर्ने निर्णय भएको थियो ।

देश तथा विदेशमा रहेका कौण्डिन्य गोत्रीय बन्धुहरु तथा कौण्डिन्य गोत्रीय बन्धुहरुको प्रतिनिधित्व गर्ने संस्था वा समाजहरु पारस्परिक सौहार्दता, सद्भाव एबम् बन्धुत्वको भावनाको विकास गर्दै एकताबद्ध बनाउने उद्देश्यका साथ सम्पूर्ण कौण्डिन्य गोत्रीय समाजका प्रतिनिधिहरुको उपस्थितिमा कौण्डिन्य गोत्रीय महासमाज दर्ता गर्ने सहमति भएको थियो ।

सोही अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बिधिवत् रुपमा २०७८ साल पौष २२ गते दर्ता नं. १८३ मा यो महासमाज दर्ता भएको छ ।

संस्थाको संस्थापक उपाध्यक्षमा आचार्य बन्धु समाज नेपालका महासचिव बाबुराम आचार्य चयन हुनुभएको छ । यसैगरी महासचिवमा बिष्णु प्रसाद बास्कोटा छानिनुभएको छ । जो बास्कोटा समाजको अध्यक्ष हुनुहुन्थ्यो ।

सचिवमा पराजुली समाज नेपालका निवर्तमान सचिव पुरुसोत्तम पराजुली, कोषाध्यक्षमा न्यौपाने समाज नेपालका महासचिव नारायण प्रसाद न्यौपाने चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा गैह्रे–कल्याण समाजका अध्यक्ष दामोदर गैह्रे, साप्कोटा बंशावली कल्याण केन्द्रका ठाकुर प्रसाद साप्कोटा, लकाई खड्का समाजका जनक कुमार खड्का, प्याकुरेल समाजका अध्यक्ष बिराज प्याकुरेल, पाठक समाजका डा. गणेश प्रसाद पाठक र सत्याल समाज कार्यवाहक अध्यक्ष हरिबोल सत्याल चयन हुनुभएको छ ।

महासमाजका उपाध्यक्ष बाबुराम आचार्यका अनुसार महासंघ दर्तापछि ‘झण्डै ४४ वटा थरहरु कौण्डिन्य गोत्रमा फेला परेका छन् । सबै थरहरुलाई समेटेर लैजाने महासमाजको तयारी रहेको उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

उहाँले कोभिड महामारी सामान्य बन्दै गएपछि सार्बजनिक रुपमा नै आह्वान गरेर सबै थरहरुलाई महासमाजमा जोडिने बताउँनुभयो । उहाँले महासमाज बनेको जानकारी सबै कौण्डिन्य गोत्रीय दाजुभाई बन्धुहरुले सर्वत्र फैलाउन अपिल समेत गर्नुभयो ।

कौण्डिन्य गोत्र

कौण्डिन्य नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो।

नेपालको सन्दर्भमा बैतडी जिल्लाको पालीगाउँ, गुरूखोलामा बसोवास रहेका तथा पालीगाउँ मूलथलो भएका (पल्याल) भट्ट थर पनि कौण्डिन्य गोत्री हुन । दार्चुला जिल्लाको लास, डाडाँकोट निवासी अवस्थी थर पनि कौण्डिन्य गोत्री हुन । यसै गरी बैतडी जिल्लाकै पालीगाउँ, दखन्समा बसोवास रहेका भाट थर पनि कौण्डिन्य गोत्री हुन् ।

यसै गरी देशर र विदेशभरी छरिएर रहेका प्याकुरेल, लम्जेल, पनेरु, आचार्य, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बाँसकोटा, त्रिताल, न्यौपाने, कमलकोटे, लकाई खड्का, गाम्ले थापा, बन्जाडे, रावल, बन्जारा, गैरे थर पनि कौण्डिन्य गोत्री हुन । काक्तेकर थर पनि कौण्डिन्य गोत्र भएको मानिन्छ।

सम्बन्धित खबरहरु