धनगढी । सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।

एमालेका उम्मेदवारले हार व्यहोरेका छन् । त्यहाँ एमाले शुन्य भएको छ ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित हुनुभएको छ ।

खुल्लाबाट कैलालीका मिश्र १४३ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मत मात्रै प्राप्त गर्नुभयो । यस्तै सत्ता गठबन्धनकै माओवादी केन्द्रका जगत पार्की पनि १४४ मत ल्याएर निर्वाचित हुनुभयो ।

उहाँ सत्ता गठबन्धनबाट दलिततर्फको उम्मेदवार हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश बिकले ७९ मत मात्रै प्राप्त गर्नुभयो ।

यस्तै महिलातर्फकी एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०९ मत ल्याउनुभयो ।

उहाँका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गर्नुभयो । महिलातर्फ प्रदेशसभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भए।

सुदूरपश्चिबाट तीन सदस्य चुन्नका लागि निर्वाचन भएको थियो। बुधबार बिहान ९ बजेबाट प्रदेश सभामा मतदान भएको थियो। मतदानमा ५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधि गरी २२७ मतदाता सहभागी हुनुभएको थियो ।

 

सम्बन्धित खबरहरु