काठमाडौ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

सत्ता गठबन्धनतर्फबाट महिला कोटाबाट कांग्रेसका कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार विजयी हुनुभएको छ ।

एमालेका लिला थनेत, पुण्य पौडेल र अर्जुनकुमार सुनाम भने पराजित हुनुभयो ।

बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभा सदस्यका लागि मतदान भएको थियो । यसअघि सुदूरपश्चिम, लुम्बिनी र बागमतीमा पनि गठबन्धनकै सबै उम्मेदवार विजयी हुनुभएको छ ।

प्रदेश–१ मा भने नेकपा एकीकृत समाजवादीका जयन्ती राई, नेकपा एमालेका ग्याल्जेन शर्पा विजयी हुनुभएको छ ।

अन्यतर्फ कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत र एमालेका उम्मेदवार गुरुप्रसाद बरालको मत बराबर भएपछिको गोलाप्रथामा बस्नेत विजयी बन्नुभयो । बुधबार रातिसम्म सबै प्रदेशको परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।

यता संसदीय व्यवस्थामा भाग लिएको २७ वर्षपछि राष्ट्रिय जनमोर्चाले पहिलो पटक माथिल्लो सदन राष्ट्रिय सभामा आफ्नो सांसद निर्वाचित गर्ने अवसर पाएको छ ।

२०५१ सालको मध्यावधी निर्वाचनदेखि निरन्तर चुनावमा भाग लिँदैआएको राजमोका तुलबहादुर विश्वकर्मा पहिलो पटक राष्ट्रिय सभामा सांसद निर्वाचित हुनुभयो ।

विश्वकर्मा लुम्बिनी प्रदेशको दलिततर्फको कोटामा सत्तारुढ गठबन्धनका उम्मेदवार बनेर चुनाव जित्नुभयो ।

रुपन्देहीका विश्वकर्माले एमाले उम्मेदवार गुल्मीका कृष्ण सुनारलाई पराजित गर्नुभयो । विश्वकर्माले ४ हजार ३५६ मत प्राप्त गर्नुभयो । त्यस्तै सुनारले ३ हजार ३४८ मत ल्याउनुभयो ।

बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि भएको पहिलो आमनिर्वाचन बहिस्कार गरेको नेकपा मसालले त्यसपछि भने संसदीय व्यवस्थालाई उपयोग गर्ने नीति लिँदै आएको छ ।

२०५१, २०५६, २०७४ सालको संसदीय चुनाव, २०६४ र २०७० संविधानसभा चुनावमा खुला मोर्चाको रुपमा राजमोमार्फत् प्रतिस्पर्धामा सहभागी हुने गर्छ ।

राजमोको संघीय प्रतिनिधिसभा मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेश सभामा समेत प्रतिनिधित्व रहेको छ । कांग्रेस नेतृत्वमा रहेको ५ दलीय गठबन्धनमा सहभागी रहेको राजमो शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने सामेल भएको छैन ।

सम्बन्धित खबरहरु