काठमाडौं । अब नेपालमा पनि गाँजामार्फत राम्रो कमाई गर्न सकिने भएको छ ।

सरकारले औषधिका रूपमा प्रयोग गर्न दिनेगरी कानुनी गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।

हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।

तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन । गृहमन्त्रालयले गत सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन सुधार कार्ययो जना २०७८’ मा गाँजालाई औषधिको प्रयोजनका लागि प्रयोग गर्न कार्यविधि बनाएर स्वीकृति दिने कुरा उल्लेख गरेको थियो ।

मन्त्रालयले कार्यविधि तयार गरी औ षधिजन्य प्रयोगको बाटो खोले पनि प्रतिबन्ध नै फुकुवा गर्न भने ऐन संशोधन वा नयाँ तर्जुमा गर्नुपर्ने हुन्छ । त्यसको निर्माणको प्रक्रियासमेत अघि बढाउने तयारी सरकारले गरेको छ ।

गृह मन्त्रालय मातहतको लागूऔषध नियन्त्रण शाखाले गाँजालाई औषधिका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर विभिन्न सरोकारवाला निकायसँग परामर्शसँगै मापदण्ड निर्माणको तयारी पनि गरेको छ । उक्त शाखाका प्रमुख, उपसचिव गोकर्णप्रसाद उपाध्यायसहितको टोलीले यसका सम्भावना र त्यसले पार्ने प्रभावबारे अध्ययन गरिरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि नेपालले कार्यविधि तयारीको चरणमा रहेको जानकारी दिनुभयो । उहाँले ऐनमा अनुसन्धान तथा अध्ययनको प्रावधान भए पनि कार्यविधि नबन्दा स्वीकृति दिन नमिलेको बताउनुभयो । नेपालले भन्नुभयो, “गृहसहित सम्बन्धित मन्त्रालयसँग छलफल गरेर गाँजाको प्रयोग कसरी गर्ने भन्ने बारे कार्यविधि तयार हुन्छ ।”

उहाँले निर्देशिका पनि तयार हुने क्रममा रहेको जानकारी दिनुभयो । राजस्व अनुसन्धान विभागले गाँजाले अर्थतन्त्र र राजस्वमा दिनसक्ने योगदान र वनस्पति विभागले बहुउपयोगी प्रयोगबारे गृहमन्त्रालयसँग प्रस्ताव प्रस्तुत गरेका थिए । तिनै आधारमा गृहले नियन्त्रित रूपमा यसको प्रयोग गर्न सकिने गरी कार्यविधि बनाउने भएको हो ।

उपत्यकाबाहिर का सल्यान, रुकुम, मकवानपुर, धादिङ, नुवाकोटलगायतका जिल्लाबाट समेत यसको अनुसन्धान गर्न पाउनुपर्ने माग आएको लागूऔषध नियन्त्रण शाखा प्रमुख गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

२०२८ सालअघिसम्म नेपालमा गाँजाको उत्पादन र प्रयोग लाइसेन्समार्फत खुला गरिएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

 

सम्बन्धित खबरहरु