काठमाडौं । क्यानडाको राजधानी ओटावामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रहरीले विगत तीन सातादेखि भइरहेको खोपविरोधी आन्दोलनलाई अन्त्य गर्ने प्रयास गरिरहेको छ । यस सम्बन्धमा हालसम्म एक सय आन्दोलनकारी पक्राउ परेका छन् ।

आन्दोलन अन्त्य गर्न सरकारले त्यहाँ संकटकाल लगाएको छ । यसअन्तर्गत प्रहरीले आन्दोलनकारीलाई फिर्ता पठाउने प्रयास गरिरहेको छ । शुक्रबार बिहान प्रहरीले अभियान सुरु गर्दा केही प्रदर्शनकारीले विरोध गरेका थिए ।

यसपछि सुरक्षाकर्मीले उनीहरुलाई भुइँमा लडाएर पछाडिबाट हात बाँधेका भिडियो सार्वजनिक भएका छन् । प्रदर्शनकारीले बालबालिकालाई ढालको रूपमा प्रयोग गरेको प्रहरीले आरोप लगाएको छ ।

शहरमा अझै पनि प्रदर्शनकारीहरूको समूह छ, उनीहरूले सरकारको आदेश पालना गर्न अस्वीकार गरिरहेका छन् । भिडियो फुटेजमा सयौं प्रहरी अधिकारीहरू प्रदर्शन स्थलमा उपस्थित देखिएका छन् ।

केही प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरू नजिकै लाइन बनाएका छन् । सबैजना एकअर्काको हात समातेर क्यानडाको राष्ट्रिय गीत गाउँदै छन् ।

समाचार एजेन्सी एपीसँग केभिन होमन्ड नामका एक प्रदर्शनकारीले भने, ‘स्वतन्त्रता कहिल्यै सित्तैमा उपलब्ध हुँदैन । यदि उनीहरूले हामीलाई हतकडी लगाएर जेलमा हाले भने के हुन्छ ?’

ओटावा प्रहरीले मुख्य विरोध स्थल वरिपरि झन्डै १०० चेक पोइन्टहरू स्थापना गरेको छ, ताकि धेरै मानिसहरूलाई विरोध स्थलमा पुग्न नदिन सकियोस् । ओटावा प्रहरीले ट्वीटरमा लेख्यो, ‘तिमीहरू यहाँबाट फर्किनुपर्छ ।

गैरकानुनी आन्दोलनमा संलग्नलाई पक्राउ गर्न सकिन्छ ।’ आन्दोलन अन्त्यका लागि प्रहरीले २१ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । आन्दोलनकारीहरु कोही पनि घाइते भएनन् । पक्राउ परेकाहरुमाथि कैयौं प्रकारका मुद्दा दर्ता भएका छन् ।

 

सम्बन्धित खबरहरु