जनकपुरधाम । नेपाल बैंक लिमिटेड लहान शाखाबाट निकालेको एक हजारको एउटा नोट नक्कली फेला परेको छ ।

नवराजपुर गाउँपालिका घर भएका पत्रकार जयनाथ यादवले बैंकबाट ३७ हजार रुपैयाँ निकाल्नुभएको थियो । जसमा एउटा हजारको नोट नक्कली रहेको उहाँले बताउनुभएको छ ।

‘माघ २३ गते सरस्वती पूजाको दिन बैंकबाट रुपैयाँ निकालेको थिएँ’, उहाँले भन्नुभयो, ‘केही खर्च भयो र बाँकी घरमै राखेको थिएँ । हिजो गाडीको भन्सार काट्न गएको बेला एक हजारको नोट नक्कली भएको थाहा पाएँ ।’

उहाँका अनुसार हजार रुपैयाँको उक्त नोटको रंग समेत फरक छ ।

नोट नक्कली जस्तो लागेपछि सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीलाई जानकारी गराएको उहाँको भनाइ छ ।

बैंकबाटै निकालेको रुपैयाँ नक्कली हुनु गम्भीर विषय भएको सुरक्षा अधिकारीको भनाई छ ।

बैंक प्रमुख सुरेन्द्र यादवले आवश्यक छानबिन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– बैंकमा दैनिक करोडौंको कारोबार हुन्छ । त्यसैले जसमा नक्कली रुपैयाँ गएको छ, ती व्यक्ति आएपछि सीसी क्यामेरा शर्च गर्छौं । कसको काउन्टरबाट यस्तो त्रुटि भएको छ त्यो हेर्छौ ।

उहाँले सात महिना अगाडि पनि नक्कली नोट फेला परेको बताउनुभयो । नोट फेला परेपछि राष्ट्रिय बाणिज्य बैंकमा बुझाउने गरेको र आवश्यक छानबिनसमेत हुने गरेको उहाँको भनाइ छ ।

सम्बन्धित खबरहरु