नयाँ दिल्ली, (रासस-सिन्ह्वा) : उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो । गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

पीडितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको थियो।

"उद्धार कार्य अझै जारी छ। एघार जनाको शव निकालिएको छ ।
दुईजना घाइतेको अवस्था गम्भीर छ र तिनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

भारतमा १३ हजार ४०० कोरोनाका नयाँ सङ्क्रमित
भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ५१ हजार ९२९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ३४ हजार २२६ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख््याभन्दा सङ्क्रणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड २१ लाख ५८ हजार ५१० जना सङ्क्रमणमुक्त भएका छन् ।

अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख २ हजार १३१ रहेको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ ।
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २३५ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन ।

यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १२ हजार ३४४ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

 

सम्बन्धित खबरहरु