काठमाडौं । भारत अहिले गृहयुद्धको संघारमा पुगेको छ ।
हिजाबको विवादपछि कर्नाटकमा बजरंग दलका एक कार्यकर्ताको हत्याको मुद्दा चर्किएको हो ।
प्रदेशको शिवमोग्गामा बजरंग दलका कार्यकर्ता हर्षको हत्या भएपछि उक्त क्षेत्रमा तनावको अवस्था छ ।
यसैबीच, कर्फ्यू लगाएर सम्पूर्ण क्षेत्रमा आरएएफ तैनाथ गरिएको छ । सोही क्रममा प्रहरीले अभियुक्तको खोजीमा ठाउँ–ठाउँमा छापा मारिरहेको छ ।
प्रहरी अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शिवमोगामा बजरंग दलका कार्यकर्ताको हत्यामा संलग्न ६ जनालाई पक्राउ गरिएको छ ।
जबकि २ जनाको खोजीमा प्रहरीले छापा मारिरहेको छ ।’ शिवमोग्गामा बजरंग दलका कार्यकर्ताको हत्याबारे पूर्वी रेन्जका डीआईजी डा. थियागराजनले १२ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार पुरानो दुश्मनीका कारण यस्तो भएको हो जस्तो लाग्छ । तर समय अलि खराब छ । अहिले स्थिति नियन्त्रणमा छ, थप अनुसन्धान भइरहेको छ । एकातिर बजरंग दलका कार्यकर्ताको हत्या गर्नेलाई प्रहरीले खोजिरहेको छ भने अर्कोतिर शिवमोगामा हिंसा बढ्दै गएको छ ।
मंगलबार बिहान आक्रोशित केही व्यक्तिले दुईवटा अटो र एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । उल्लेखनीय छ कि आइतबार राति ९ बजे कर्नाटकको शिवमोग्गामा बजरंग दलका एक कार्यकर्ताको छुरा प्रहार गरी हत्या गरिएको थियो ।
घटनापछि पूरै क्षेत्रमा तनावपूर्ण अवस्था छ । हाल स्थितिलाई ध्यानमा राख्दै प्रशासनले सम्पूर्ण क्षेत्रमा धारा १४४ लगाएको छ । यसैबीच कर्नाटकका गृहमन्त्री अर्गा ज्ञानेन्द्रले शिवमोग्गा पुगेर मृतकको परिवारलाई भेटेका छन् ।
उनले प्रहरीसँग ठोस प्रमाण भेटिएको र घटनामा संलग्नलाई छिट्टै पक्राउ गर्ने बताए । यसैबीच सोमबार मृतकको अन्त्येष्टिका क्रममा हिंसा भड्किएको थियो । ढुंगामुढा र आगजनीका घटनामा फोटो पत्रकार र एक महिला प्रहरीसहित तीन जना घाइते भएका छन् ।
राज्यका बीजेपी नेताहरूले हत्याको निन्दा गरेका छन् । केही इस्लामिक संगठनहरूको भूमिकाको आरोप लगाउँदै यस मामिलामा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) द्वारा छानबिन गर्न माग गरेका छन् ।