काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले यही फागुन १ गतेदेखि सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको भीड लाग्न थालेको छ ।

कोरोना जोखिम कायमै रहेका बेला पनि सोचेभन्दा धेरै पाठक पुस्तक प्रदर्शनीमा आएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीमा दर्शनाचार्य (एमफिल) मा अध्ययनरत नेपाली, समाजशास्त्र, लोकसाहित्यलगायत विषयका अनुसन्धाताले बढी पुस्तक खरिद गरेका छन् ।

विभिन्न विषयमा स्वतन्त्र रुपमा अनुसन्धान गरिरहेका र विभिन्न पुस्तकालयका लागि पुस्तक खरिद गर्न आउनेको भीड लागेको छ । फागुन १ देखि फागुन १२ गतेसम्म करिब रु चार लाखको पुस्तक बिक्री भएको उहाँले सुनाउनुभयो ।

प्रदर्शनीमा यसपटक ‘नेपाली लोक विश्वास’, ‘भरतनाट्यशास्त्रम्’, ‘प्रज्ञा शैक्षणिक व्याकरण’ र दर्शन शास्त्रसम्बन्धी धेरै पुस्तक बिक्री भएका छन् । नेपाली बृहत् शब्दकोश पनि उल्लेख्य मात्रामा बिक्री भएको बताइएको छ । प्रदर्शनी फागुन १५ गतेसम्म जारी रहनेछ । यसपछि नयाँ वर्षका अवसरमा पनि प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने जनाएको छ ।

प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा, कविता, इतिहास, लोकसाहित्य, संस्कृति, ललितकला, सङ्गीत, विभिन्न ‘जर्नल’ गरी ५०० प्रकारका पुस्तक एवं पत्रपत्रिका राखिएका छन् । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री भइरहेको छ ।

नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुईवटा किन्नेलाई २० प्रतिशत सहुलियत दिइएको छ । प्रदर्शनीमा प्रतिष्ठानका १० नयाँ प्रकाशन राखिएका छन् । थप गरिएका प्रकाशनमा ‘नेपाली लोक विश्वास’, ‘नेपाली निघण्टु’, ‘प्रज्ञा शैक्षणिक व्याकरण’, ‘काठमाडौँ उपत्यकाका केही जात्रा’ लगायत छन् ।

प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान एवं सांस्कृतिक संस्थानबाट प्रकाशन गरिएका पुस्तक एवं पत्रपत्रिकासमेत राखिएका छन् । ललितकला प्रज्ञा प्रतिष्ठानका प्रकाशनमा भने ५० प्रतिशतसम्म सहुलियत दिइएको छ ।

प्रतिष्ठानका प्रकाशन बिक्रीका लागि प्रदर्शनी सहायक सिद्ध हुने आशा गरिएको छ । प्रतिष्ठानले सधैँका लागि प्रदर्शनी कक्ष राख्ने तयारी गरेको जानकारी गराएको छ । प्रतिष्ठानले कस्ता प्रकाशन पाठकसामु ल्याएको छ भन्ने जानकारी दिन पनि प्रदर्शनी उपयोगी भएको छ ।

यसअघि राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा गत पुस २५ गतेदेखि आयोजना गरिएको प्रदर्शनी कोरोना भाइरसको तेस्रो लहर बढ्न थालेपछि माघ पहिलो साता स्थगित गरिएको थियो ।

सम्बन्धित खबरहरु