नेपालले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने पक्का

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १५ माघ, २०७१

cric-2माघ १४, काठमाडौं । नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने पक्का भएको छ। बुधबार दुबईमा बसेको आइसीसी बोर्ड बैठकले केन्या र नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो।नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा माथिल्लो स्तरका टोलिविरूद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल डिभिजन १ को हैसियतमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाएको हो।

शनिबार नामिबियामा सम्पन्न डिभिजन २ मा नेपाल चौथो स्थानमा सीमित भएको थियो। ६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो तथा चौथो टोली डिभिजन २ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो।

नामिबियाको प्रतियोगिताबाट शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी चार वर्ष डिभिजन १ मा रहेका ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरूपको अन्तरमहादेशीय कप खेल्न पाउँछन्। आइसिसीका विकास निर्देशकहरूले भने डिभिजन २ का शीर्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा समावेश गर्ने आइसीसीले जनाएको छ।

आईसीसीले डिभिजन वानको शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई सन् २०१९ को विश्वकपका लागि छनोट गरेपछि नेपाल र केन्याले मौका पाएका हुन्।

अफगानिस्तान र आयरल्याण्डले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने छैन। उक्त स्थानमा हालै नामिबियामा सम्पन्न डिभिजन टूको तेस्रो केन्या र चौथो नेपाल छनोट भएको छ।

सम्बन्धित खबरहरु