काठमाडौं । युक्रेनमा रुसले आक्रमण थालेको आज तेस्रो दिन हो । रुसी सेनाले युक्रेनका धेरै क्षेत्रमा आक्रमण गरी सैन्य अखडा ध्वस्त पारेको छ ।

योसँगै युक्रेनले देशको रक्षाका लागि आम नागरिकको हातमा हतियार पनि दिएको छ । तर, अब युक्रेन र रुसबीच वार्ता हुने संकेत देखिएको छ । आउनुहोस् जानौं अहिलेसम्म के–के भयो ?

शुक्रबार युक्रेनका धेरै ठाउँमा रुसी आक्रमणको खबर आएको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राजधानी कीभमा दुश्मनहरू प्रवेश गरेको बताएका छन् ।

अमेरिका, बेलायत र युरोपेली संघले रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । बेलायतले रुसी राष्ट्रिय एयरलाइन्स एरोफ्लोटलाई बेलायतमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ । बदलामा रुसले पनि बेलायती विमानलाई रुसी हवाई क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो ।

ताइवानले पनि रुसी आक्रमणको निन्दा गरेको छ । रुसमाथि लगाइएका प्रतिबन्धका सम्बन्धमा अमेरिका, युरोपेली युनियन र अन्य समान विचारधारा भएका देशको साथमा रहेको पनि उसले जनाएको छ ।

युक्रेनमा सैन्य कारबाहीका बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै देशका राष्ट्र प्रमुखसँग कुराकानी गरेका छन् । बिहीबार रुसको आक्रमणको पहिलो दिन थियो ।

अफगानिस्तानको सत्तारुढ तालिबानले युक्रेनको अवस्थाबारे एक विज्ञप्ति जारी गरेको छ । अफगानिस्तानले युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सर्वसाधारणको ज्यान जाने सम्भावित क्षतिप्रति चिन्तित रहेको विज्ञप्तिमा उल्लेख छ। युक्रेनमा काउन्टर इन्टेलिजेन्सको स्रोतले युक्रेनस्का प्राभदा वेबसाइटलाई रुसले राजधानी किभ र सम्पूर्ण देशलाई नियन्त्रण गर्ने योजना बनाएको बताएको छ ।

बीबीसी संवाददाता निक बेकले रुसी हवाई आक्रमणले कीभको भारी जनसंख्या भएको क्षेत्र पोज्नियाकलाई रातभरी असर गरेको बताए । त्यहाँ करिब आठ जना घाइते भएका छन् ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा सैनिक कारबाही युक्रेनी जनतालाई दमनबाट मुक्त गराउने उद्देश्यले सुरु गरिएको बताए । उनका अनुसार अब युक्रेनी जनताले आफ्नो भविष्य निर्धारण गर्न सक्ने छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली नेताहरूले रुसविरुद्ध अपर्याप्त कदम चालेको आरोप लगाएका छन् । जेलेन्स्की भन्छन्, ‘यदि युरोपेली नेताहरूले छिट्टै कडा कदम उठाए भने रुसी आक्रमण रोक्न अझै ढिलो भएको छैन ।’ तर, पछि रुस र युक्रेन वार्ता गर्न सहमत भए ।

क्रेमलिन (रुसी राष्ट्रपति कार्यालय) का प्रवक्ता दिमित्री पेस्कोभले बेलारुसको राजधानी मिन्स्कमा युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको बताएका हुन् । तर यी वार्ताका लागि रुसले सर्त अगाडि सारेको छ । युक्रेनलाई तटस्थ स्थिति घोषणा गर्नुका साथै सेना घटाउने विषय पनि रुसको सर्तमा समावेश छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रवक्ताले युक्रेन रसियासँग युद्धविराम र तत्काल शान्ति वार्ता गर्न तयार रहेको बताएका छन् ।

हिजो राति युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक भिडियो जारी गर्दै रुसले आगामी घण्टामा कीभमा आक्रमण गर्ने चेतावनी दिएका थिए । आज बिहानैदेखि कीभमा रुसले आक्रमण गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु