गोरखाको बराहस्थित एक घरमा चितुवा भेटिएको छ। तीन फ्ल्याटको आरसीसी गरिएको घरको दोस्रो फ्ल्याटको कुनाको कोठामा चितुवा भेटिएको हो। स्थानीय राममाया भन्नेको घरको कोठाभित्र चितुवा देखिएको जिल्ला बन कार्यालयले जनाएको छ।
खाटमुनी बसेको चितुवालाई कोठामा थुनेर राखिएको छ। अहिले चितुवा हेर्न सदरमुकाम आसपासका मानिसहरु बराह पुगेका छन्। घरको छतस्थित ढोकाबाट चितुवा भित्र पसेको हुनसक्ने अनुमान गरिएको छ। जिल्ला बन कार्यालयका प्रमुख दुर्गाबहादुर कार्कीले चितवनको सौराहस्थित कार्यालयबाट चितुवा नियन्त्रणको लागि टोली आउने बताए ।
‘प्राबिधिक टोली हामीसँगै छ’ उनले भने, ‘सौराहबाट भेटेरेनरीका साथीहरु आउदै हुनुहुन्छ।’ बिहान आठ बजे घरमा चितुवा पसेको थियो। घरका केटाकेटीले खातमुनी बसेको चितुवा देखेका स्थानीयले जानकारी दिए। सदरमुकामको बोक्सेपानीस्थित ढाँडमा दुईओटा माउसहित दुई बच्चा चितुवा गत पौष ४ गतेदेखि देखिदै आएको छ। उक्त चितुवामध्ये घरभित्र पस्ने एक भएको हुनसक्ने बन कार्यालयले जनाएको छ।