काठमाडौ । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले आत्मसमर्पण गर्ने घोषणा गरेका छन् ।

शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।

त्यसपछि सबै जिल्ला प्रहरीलाई परिपत्र पठाएर पल शाह पक्राउ गर्न प्रहरीले आदेश दिएको थियो । लगत्तै पल शाह आफै प्रहरी समक्ष जाने निर्णय लिएका छन् ।

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु–२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’ उनले भनेका छन् ।

एउटा म्युजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबरजस्ती करणी गरेको अभियोग शाहमाथि छ ।

चर्चित गायिकाका बाबुले जाहेरी दिएका छन् । गायिका नाबालिका रहेकी छिन् । विहेको प्रलोभन देखाएर माया प्रेममा पारेर करणी गरेको आरोप उनलाई छ ।

सम्बन्धित खबरहरु