काठमाडौं । युक्रेनमा जारी युद्धबीच त्यहाँ रहेका नेपाली नागरिक संकटमा परेका छन् । उनीहरु नेपाल सरकारसँग सहयोग माग्दैछन् ।

अर्कोतिर सरकार पनि उनीहरुलाई सुरक्षित स्वदेश फर्काउन सक्दो पहल गरिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालय र मातहतका दूतावास, गैरआवासीय नेपाली सङ्घ तथा स्थानीय नेपालीको संयुक्त सक्रियतामा युक्रेनमा रहेका नेपाली नागरिकलाई सकुशल नेपाल फर्काउन पहल गरिरहेको बताउँछ ।

युक्रेनको राजधानी किभमै पनि पछिल्लो समय बमबारी भएपछि त्यहाँ रहेका नेपाली नागरिक संकटमा परेका हुन् ।

किभमा अध्ययनरत निशा कुँवर, कल्पना तामाङ, विशाल गुरुङलगायतका विद्यार्थी कहाँ कसरी गएर सुरक्षित हुने भन्नेमा अन्योल रहेको गुनासो गर्छन् । उनीहरुको विश्वविद्यालय क्षेत्रमा समेत आक्रमण भएको छ ।

विश्वविद्यालयआसपासमै रहेको छात्रावासमा रहेका विद्यार्थी भाग्यवश बाँचेको उनीहरुले जानकारी गराए । दूतावासमा सम्पर्क गर्दा जसरी हुन्छ, सीमाक्षेत्रमा पुग्न भनिएको तर यातायातसाधन नचलेकाले कसरी जाने केही थाहा छैन् ।

पैसा नभएको र बैङ्क, बजार, पसल सबै बन्द रहेकाले समस्यामा पर्न थालेको विद्यार्थीले दुःखेसो गरेका छन् ।

उनीहरूजस्तै १२९ जना नेपाली सामाजिक सञ्जालको समूहमा रहेर आफ्ना पीडा साटिरहेका छन् ।

युक्रेनआसपासका दूतावासले तीनवटा देश स्लोभाकिया, रोमानिया र पोल्यान्डतिरको सीमाक्षेत्रमा स्थापना गरेको क्याम्पसम्म पुग्न नेपाली नागरिकलाई अनुरोध गरिएको छ ।

सम्बन्धित खबरहरु