काठमाडौं । रूसविरुद्ध एक नेपाली युवाले युद्ध लड्ने उद्घोष गरेका छन् ।

एक सातादेखि रूस र युक्रेनबीच युद्ध चलिरहेको छ । रूसले युक्रेनमाथि स्थल र हवाई मार्फत निरन्तर आक्रमण गरिरहेको छ।

रूसी आक्रमणले युक्रेनका धेरै शहर क्षतिग्रस्त भइरहेका छन् । रूसी आक्रमणको विरोधमा विश्वभरमा नागरिक सडकमा उत्रेका छन् ।

नेपाल सरकार पनि स्पष्ट रूपमा युक्रेनको पक्षमा उभिएको छ । यसैक्रममा नेपालका एक युवा रूसविरुद्धको लडाइँमा युक्रेनको पक्षबाट लड्ने भएका हुन् ।

नेपालबाटै गएका एकजना युवकको भिडियो बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको छ । युक्रेनबाटै सार्वजनिक भएको उक्त भिडियोमा नेपाल घर भएको बताउने प्रताप बस्नेतले सो उद्घोष गरेका छन् ।

ती युवाले रूसविरुद्ध लड्न तयार रहेको बताएका हुन् । उनले जारी गरेको भिडियोमा उनले भनेका छन, ‘रूसविरुद्ध लड्न युक्रेनको पक्षमा लागेको छु । यो निर्णय मेरा लागि गर्वको विषय हो ।’

आफू लामो समयदेखि युक्रेनमा बसेर काम गर्दै आएको भन्दै आज संकटको समयमा उसका पक्षमा आएको उनको भनाई रहेको छ ।

उनले रूसले युक्रेनमाथि गरेको सैन्य कारबाहीले आफूलाई निद्रा नलागेको भन्दै आफू मानवताको पक्षमा लागेको बताए ।

उनले भने, ‘म युक्रेनी सेनामा प्रवेश गर्ने निर्णय गरेको छु ।’ यो विषयमा नेपाल सरकारले कुनै आधिकारिक पुष्टि भने गरेको छैन।

 

सम्बन्धित खबरहरु