
गत साता वितरक सुनिल मानन्धरले चैत्र २७ गते चल्न लागेको फिल्म ‘नाईं नभन्नु ल ३’लाई काठमाण्डौ उपत्यकाका लागि मात्र ३५ लाख रूपैंया ‘एमजी’ दिए । फिल्म नचल्दै निर्मातालाई वितरकले दिएको यो रकम अत्याधिक हो ।
आईतवार वितरक कम्पनी एफडीले कमेडी फिल्म ‘वडा नम्बर ६’लाई काठमाण्डौ उपत्यका बाहिरको लागि ३५ लाख रूपैयाँ नै ‘एमजी’ स्वरूप दिएको छ । निर्माता दीपाश्री निरौलाले एफडीसँग आईतवार ३५ लाखको सहमती भएको जानकारी गराईन् । यस्तै उनले छिट्टै नै काठमाण्डौ उपत्यकाका लागि पनि वितरकसँग यस्तै सहमती गर्ने जानकारी गराईन् ।
यता एफडीका अध्यक्ष प्रदीप उदयले ‘छ एकान छ’ फिल्मलाई आधार मानेर ‘एमजी’ दिएको बताए । ‘हामी फिल्म चल्छ भनेर विश्वस्त छौं । त्यसैले ‘एमजी’ दिएका हौं’, उदयले भने, ‘चल्ने छाँट देखिने फिल्मलाई हामी ‘एमजी’ दिने गरेका छौं ।’ यसअघि ‘काली’ फिल्मलाई ‘एमजी’ दिएको उनले सुनाए ।
उज्जवल घिमिरेले निर्देशन गरेको ‘वडा नम्बर ६’मा दीपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, नीर शाह, अरुणा कार्कीलगायतको अभिनय छ । सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको यो फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन् । फिल्मलाई दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर निर्माण गरेका हुन् ।