काठमाडौं । ललितपुरको कोन्ज्यासुममा दुईदिने शिशुसहित पाँच जना मृत अवस्थामा फेला परेका छन् । कोन्ज्यासुम गाउँपालिका–४ मा सोमबार बिहान एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले चार जनाको घटनास्थलमा र दुई दिनको शिशुको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार बिहान घरमै चार जना शङ्कास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का एक जनाको अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । सुत्केरी महिला भएकाे साे घरमा आगाे बालेकाे काेइला फेला परेकाे र केहीले बान्तासमेत गरेकाे पाइएकाे प्रहरीले जनाएकाे छ । आगाे बालेकाले सफाेकेशन भएर मृत्यु हुनसक्ने प्रहरीकाे अनुमान छ । बान्ता गरेकाले विष सेवन पनि हुनसक्ने भन्दै पाेस्टमार्टमपछि मात्र वास्तविकता थाहा हुने एक प्रहरी अधिकारीले बताए ।

घरैमा मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्ताङ, २३ वर्षीया सुष्मा स्याङ्ताङ, नाै वर्षीय आशिष स्याङ्ताङ र सात वर्षीया आश्मा स्याङ्ताङ रहेको एसएसपी पोखरेलले जानकारी दिनुभयो । त्यस्तै, २३ वर्षीय शुभ स्याङ्ताङको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबरहरु