एजेन्सी/ चाल्र्स डार्बिनको विकासवादी सिद्धान्तले भन्छ– मानिसको पुर्खा बाँदर हो । यो सिद्धान्तप्रति असहमति जनाउनेहरू पनि छन् । तर, युगान्डाका जोन सेबुन्यालाई हेर्ने हो भने डार्बिनको सिद्धान्त ठीक हो झैँ लाग्छ । किनकि उनलाई जंगलका बाँदरले लालनपालन गरेर हुर्काएका हुन् । चार वर्ष हुँदा जोनकै अगाडि उनका बाबुले आमाको हत्या गरिदिए । बाबुले आफूलाई पनि मार्लान् भन्ने डरले जोन घरबाट भागेर टाढाको जंगलमा पुगे । जंगलमा बाँदरको बाक्लो बसोबास थियो । घरबाट भागेका जोनलाई जंगलका बाँदरहरूले आफ्नो समूहमा आबद्ध गराए । यति मात्र होइन, उनको रेखदेख, लालनपालनको जिम्मा पनि लिए ।

सन् १९९१ मा बाँदरहरूसँग खेलिरहेको एक व्यक्तिलाई देखेपछि सबै छक्क परे । ती व्यक्ति बाँदरजस्तै हाउभाउ देखाउँदै उफ्रिने, खेल्ने गर्दै थिए । यसरी बाँदरजस्तै गरी बाँचेका ती व्यक्ति अरू कोही नभई जोन थिए । त्यसपछि उनलाई बाँदरको बस्तीबाट अलग गरेर मानिसका बीचमा राखियो । बाँदरसँगको लामो संसर्गका कारण भाषा बिर्सिएका उनलाई कसरी बोल्ने भन्ने पनि सिकाइयो । अहिले जोनले मानिसको लवज र जीवनशैली पूरै सिकिसकेका छन् । उनी भाका हालेर गीत गाउन सक्ने भएका छन् ।

सम्बन्धित खबरहरु