काठमाडौं । युद्धको १८ औं दिनमा, रूसले युक्रेनका धेरै शहरहरूमा हवाई आक्रमण गरेको छ । पोल्याण्डसँगको युक्रेनको पश्चिमी सीमामा रहेको ल्भिभमा रहेको सैन्य तालिम केन्द्रमा मिसाइलको वर्षा हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

जानकारी अनुसार १३४ जनाभन्दा बढी घाइते भएका छन् । ल्भिभका गभर्नर म्याक्सिम कोजित्स्कीले भने, ‘रुसले याभोरीभ केन्द्रमा कम्तिमा ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो, जसमध्ये धेरैजसो हवाई सुरक्षाद्वारा खसालिएका थिए, तर केहीले लक्ष्यमा हानेका थिए ।’

यो तालिम केन्द्र पोल्याण्डको सिमानाबाट मात्र २५ किलोमिटर टाढा छ । पोल्याण्ड नेटोको सदस्य हो र युक्रेनलाई धेरै जसो पश्चिमी सैन्य सहायता पोल्याण्डबाट गइरहेको छ । रसियाले शनिबार युक्रेनलाई पठाइने सैन्य सहायता आफ्नो निशाना हुने चेतावनी दिएको थियो ।

रुसको यो कदमलाई बेलायतले विवादास्पद र उत्तेजक भनेको छ । अर्कोतर्फ रुसी समाचार एजेन्सीले सोमबार दुवै पक्षले भिडियो लिङ्कबाट वार्ता गर्ने बताएको छ । रुसी विमानहरूले पश्चिमी सहर इभानो फ्रान्किभस्कको विमानस्थलमा बमबारी गरेका छन् ।

यो सहर स्लोभाकिया र हंगेरीको सिमानाबाट २५० किलोमिटर टाढा पर्दछ । यो विमानस्थल सैन्य र नागरिक उडान लागि प्रयोग गरिन्छ । राजधानी किभमा पनि रुसी सेनाको गोलीबारीमा ७ जना सर्वसाधारणको मृत्यु भएको छ ।

युक्रेनी अधिकारीहरूले रुसले पूर्वी डोन्स्कमा रहेको एउटा गुम्बा र बालबालिकाको रिसोर्टमा आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणमा ३२ जना घाइते भएका छन्। डोन्स्कबाट मानिसहरूलाई बाहिर निकाल्ने रेलमा पनि हवाई आक्रमण गरियो, जसमा एक व्यक्तिको मृत्यु भयो ।

सम्बन्धित खबरहरु