अनौठो रेष्टुरेण्ट जहाँ सुन्दरीलाई सित्तैमा खाना दिइन्छ

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १५ माघ, २०७१

एजेन्सी/ चीनमा एउटा यस्तो रेस्टुरेन्ट छ, जहाँ सुन्दर युवती र ह्यान्डसम केटाहरूलाई नि:शुल्क खाना ‘सर्भ’ गरिन्छ । यस्तो नियम संसारको अर्को कुनै रेस्टुरेन्टमा छैन । यद्यपि, चीनमा यसअघि पनि केही रेस्टुरेन्टले यस्तै प्रकृतिको कार्यक्रम ल्याएका थिए । चीनको हेनान प्रान्तको झेंगझोउस्थित कोरियन रेस्टुरेन्टले यस्तो अनौठो अभ्यास गरेको हो । यद्यपि, कुन ग्राहकको शारीरिक बनोट राम्रो छ भन्ने कुराको निक्र्योल रेस्टुरेन्टका कर्मचारीले गर्दैनन् । एउटा कस्मेटिक सर्जरी क्लिनिकका कर्मचारीले ग्राहकमध्येबाट सुन्दर र ह्यान्डसम ग्राहकलाई छनोट गर्छन्, रेस्टुरेन्टले त्यस्ता ग्राहकलाई नि:शुल्क खाना खुवाउँछ ।

‘रेस्टुरेन्टमा आउने ग्राहकहरूको फोटो खिचिन्छ । त्यसपछि कस्मेटिक सर्जरी क्लिनिकका कर्मचारीले यी फोटोमध्येबाट पाँचजना सुन्दर ग्राहकको फोटो छनोट गर्छन् । छनोटमा परेका ग्राहकहरूले खाएको खानाको पैसा रेस्टुरेन्टले मिनाहा गरिदिन्छ । कोरियन रेस्टुरेन्ट जेजुले होटेलको प्रमोसनका लागि यस्तो कार्यक्रम ल्याएको हो । होटेलको यस्तो कार्यक्रमको समर्थन र विरोधमा सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ । सुन्दरहरूलाई सुविधा दिने नाउँमा रेस्टुरेन्टले सुन्दरको सूचीमा नपरेकाहरूप्रति अन्याय गरेको तथा उनीहरूको रूपरङको खिल्ली उडाएको आरोप रेस्टुरेन्टमाथि लगाइएको छ । जेजु रेस्टुरेन्टले फेब्रुअरीको मध्यसम्म यो कार्यक्रम लागू गर्ने जनाएको छ ।

सम्बन्धित खबरहरु