काठमाडौ । गायक प्रकाश सपुतको आफ्नो नयाँ गीत ‘पीर’ राजनीतिकरण भएपछि हटाउन बाध्य भएका छन् ।

नेकपा माओवादी (केन्द्र) र शसस्त्र युद्धसँग सम्बन्धित पक्षको चर्को दवावका कारण उनले पहिले अपलोड गरेको गीत डिलिट गरेर फेरी अपलोड गरेका छन् ।

पुनः अपलोड गरिएको गीतमा केही सच्याईएको छ । के सच्याईयो तपाईले भिडियोमा हेर्न सक्नुहुन्छ । यसअघि गायक सपुतले आफ्नो नयाँ गीत ‘पीर’ राजनीतिकरण नगर्न आग्रह गरेका थिए ।

तर गीतको भिडियोको केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा उनले माफी मागेका थिए । आत्मसम्मानमा चोट पुगेको महसुस भएकाले उक्त दृष्य हटाएर पुनः अपलोड गरिएको उनले बताएका छन् ।

Prakash Saput New Song ???

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गरेका हुन् ।

साथै उनले कसैले यस विषयलाई नियतवश उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन । मैले कसैसँग पनि यो विषयमा सहयोग र सल्लाह लिएको छैन ।

त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं, तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ।

कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष र विपक्षमा एकोहोरो भइन्छ । नेपाली सोसियल मिडियामा यो गलत नजीर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौं ।

तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो ।

भिडियो हेरिरहँदा जुन–जुन दृश्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु । यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ।’

उनले गीतमा समावेश चरित्र आफैंले देखेका र संगत गरेका नै भएको पनि स्पष्ट पारेका छन् । ‘पीर’ गीतमार्फत ‘जनयुद्ध’कै जग र बलमा व्यवस्था परिवर्तन भएको, तर अवस्था परिवर्तन मात्रै भन्न खोजेको सपुतले उल्लेख गरेका छन् ।

समानताका लागि लडेका एकसाथ लडेकाहरुबीच बढ्दै गएको असमान दुरीलाई भिडियोमा देखाउन खोजेको उनको भनाइ छ ।

उनले अगाडि उल्लेख गरेका छन्, ‘एक आम नागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिश गरेका हौं ।

मलाई लागेको यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिंदै र पढिंदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?’

केही दिनअघि युट्युबमा सार्वजनिक ‘पीर’ बोलको गीत सार्वजनिक भएसँगै केही विवाद सिर्जना भएको थियो । खासगरी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु यो गीतविरुद्ध खनिएका छन् ।

खासगरी पूर्वमाओवादी छापामार देशव्यापारमा संलग्न भएको दृश्यप्रति उनीहरुले आपत्ति जनाएका छन् । नारीको चरित्रसँग जोडिएको दृष्य अहिले हटाइएको छ । भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=pDNV4OnYzp8

 

सम्बन्धित खबरहरु