काठमाडौं । एउटा कार भीडमा ठोक्किएपछि कम्तीमा ६ जनाको मृत्यु भएको छ । यो घटना युरोपेली देश बेल्जियमको हो ।

बेल्जियमको राजधानी ब्रसेल्सबाट करिब ५० किलोमिटर टाढा एउटा सानो सहरमा यो घटना भएको हो ।

आइतबार कार्निभलमा सहभागी हुन तयारी गरिरहेका करिब ६० जनालाई तीव्र गतिको कारले ठक्कर दिएको थियो । एक प्रहरी प्रवक्ताले दुर्घटनामा धेरै व्यक्ति घाइते भएको जानकारी दिएका छन् ।

उनका अनुसार जसमध्ये केहीको अवस्था गम्भीर छ । घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको छ ।

तर प्रहरीले यो आतंकवादी घटना नभएको बताएको छ । प्रहरी प्रवक्ता क्रिस्टिना इयानोकोले भनिन्, ‘यो एउटा दुर्घटना हो, दुखद दुर्घटना हो ।

कार मानिसहरूमाथि दौडियो र अगाडि बढ्न खोज्यो तर प्रहरीले तुरुन्तै रोक्यो ।’ प्रहरीका अनुसार कारका चालक र अन्य यात्रुलाई नियन्त्रणमा राखिएको छ ।

प्रहरीले बेल्जियम सञ्चारमाध्यमहरुमा आएका रिपोर्टहरूलाई अस्वीकार गरेको छ । समाचारमा घटना प्रहरी कार पछ्याउने क्रममा भएको भनिएको थियो ।

बेल्जियमका आन्तरिक मन्त्री एनेलिज भेर्लिन्डनले ट्वीटरमा लेखेकी छन्, ‘आज बिहानको दुर्घटनामा मारिएका र घाइते भएकाहरूका परिवारप्रति मेरो गहिरो समवेदना ।

यो एक भव्य पार्टी हुनु पर्ने थियो तर यो एक दुखद दुर्घटनामा परिणत भयो । हामी अवस्थाको अनुसन्धान गरिरहेका छौं ।’

 

सम्बन्धित खबरहरु