काठमाडौं । रुसको साथ छोड्न चीनलाई दवाव दिइएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी आक्रमणको कडा शब्दमा निन्दा गर्न चीनलाई आग्रह गरेका छन् ।

सन्डे टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा जोनसनले यस्तो बताएका हुन् । उनले राम्रो र नराम्रो बीचको युद्ध भएको भन्दै रुससँग उभिनु दोस्रो विश्वयुद्धमा गलत पक्ष रोज्नु बराबर भएको बताए ।

उनले भने, ‘समय बित्दै जाँदा रुसी अत्याचारको संख्या बढ्दै गएपछि, मलाई लाग्छ कि पुटिनको आक्रामकतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बेवास्ता गर्नु मानिसहरूका लागि अझ गाह्रो र राजनीतिक रूपमा लज्जास्पद बन्दै गएको छ ।’

जोनसनका अनुसार उनी विश्वास गर्छन् कि चीनले आफ्नो तटस्थ स्थिति पुनःविचार गर्नेछ । युक्रेनमा रुसको कारवाहीको चीनले अहिलेसम्म निन्दा गरेको छैन ।

यो बीचमा रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको खबर पनि आएको थियो । तर सैन्य सहयोग मागेको कुरालाई चीन र रुस दुबैले अस्विकार गरेका छन् ।

यसअघि शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई सहयोग गरे चीनले गम्भीर परिणाम भोग्न सक्ने चेतावनी दिएका थिए ।

शनिबार चिनियाँ विदेशमन्त्री वाङ यीले यस मुद्दामा आफ्नो देशको अडान निष्पक्ष भएको बताए। उनले यस विषयमा चीनले कुनै पनि बाह्य दबाबको प्रतिक्रिया नदिने पनि स्पष्ट पारेका छन् ।

 

सम्बन्धित खबरहरु