काठमाडौं । युक्रेन युद्धमा रुसले १५ हजार सैनिक गुमाएको छ ।

युक्रेनको सशस्त्र सेनाका अनुसार मार्च २१ सम्म रूसले सो संख्यामा सैनिक गुमाएको हो । अधिकारीहरुका अनुसार रुसले ९७ लडाकु विमान, १२१ हेलिकोप्टर, ४९८ ट्याङ्कसहित अन्य धेरै क्षति ब्यहेर्नु परेको छ ।

युक्रेनी सेनातर्फ कति क्षति भयो भन्ने कुरा बाहिर आउने गरेको छैन । गत शनिबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राजधानी कीभमा पत्रकार सम्मेलन गर्दै अहिलेसम्म झडपमा करिब १ हजार ३ सय युक्रेनी सैनिकको ज्यान गएको बताएका थिए ।

जेलेन्स्कीका अनुसार शुक्रबार करिब ५००–६०० रुसी सैनिकले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेका थिए । पश्चिमी देशहरुले करिब ८ रुसी सैनिकको मृत्यु भएको अनुमान गरेका छन् ।

भोलोडिमिर जेलेन्स्कीले पत्रकार सम्मेलनमा रुसी सैनिकले जनताको मन जित्न नसक्ने बताएका थिए । रुसी सेनाले गर्ने कब्जा अस्थायी हुने उनको भनाई रहेको छ ।

युक्रेनमा रुसका चार जर्नेलसहित १३ वरिष्ठ सैनिक अधिकारी मारिए

किभ / युक्रेनमा विशेष सैन्य कारबाही गरिरहेको रुसी सेनाले थप एक वरिष्ठ सैन्य अधिकारी गुमाएको छ ।

रुसको सरकारी टेलिभिजनले ३३१ औं गार्ड प्यारासुट एसल्ट रेजिमेन्टका कर्णेल सर्गेई सुखारेभ मारिएको पुष्टि गरेको हो । उनीसँगै विशेष फौजका मेजर सर्गेई किरिलोभसमेत मारिएको समाचारमा उल्लेख छ ।

त्यस्तै, वरिष्ठ सर्जेन्ट सर्गेई लेबेदेब, सर्जेन्ट अलेक्जाण्डर लिमोनोभ र कर्पोरल युरी डेगत्यारयोभले समेत ज्यान गुमाएका छन् ।

यसअघि काजकस्तानबाट फौजको नेतृत्व गर्दै फर्किने क्रममा कर्णेल सुखारेभ रुसी टेलिभिजनमा देखा परेका थिए । उनले काजकस्तानमा भएको प्रदर्शनका बेला शान्ति स्थापनार्थ रुसले पठाएको फौजको नेतृत्व गरेका थिए ।

युक्रेनी सेनाको पछिल्लो भिडन्तमा सैन्य गुप्तचर अधिकृत एवं २२ औ स्पेशल फोर्सेस ब्रिगेडका सदस्य सर्गेई विश्न्याकोभसमेत मारिएको बेलायती समाचार माध्यमले जनाएका छन् ।

मोटराइज्ड राइफल रेजिमेन्टका कमाण्डर युरी अगरकोभ समेत विशेष सैन्य कारबाहीका क्रममा मारिएका छन् । त्यस्तै, ३८ औं मोटराइज्ड राइफल ब्रिगेडका सहायत कमाण्डर मेजर रुस्लान पेट्रुखिम पनि मारिएको अनुमान गरिएको छ ।

रुसी सेनाले सैन्य कारबाहीयता कम्तिमा ४ जना जर्नेलसहित १३ जना अधिकारी गुमाइसकेको डेली मेलले बताएको छ । सुखारेभ मारिनुपूर्व १५० औं मोटराइज्ड राइफल डिभिजनका मेजर जर्नेल ओलेग मित्याएभ मारिउपोलमा मारिएका थिए ।

त्यस्तै, मेजर जर्नेल आन्द्रेई कोलेस्निकोभ, मेजर जनरल आन्द्रेई सुखोभेट्स्की र मेजर जनरल भिटाली गेरासिमोभ समेत कारबाहीका क्रममा मारिएका छन् ।

युक्रेनमा मारिने अन्य रुसी सैन्य अधिकारीमा कर्णेल आन्द्रेई जाखारोभ, लेप्टिनेन्ट कर्णेल दिमित्री साफ्रोनोभ, कणर्ेल कोन्स्टानटिन जिजेभ्स्की छन् ।

चेचेन्याको विशेष फौजका कमाण्डर जर्नेल मागोमेद तुशाएभ, क्रेमलिनको समर्थत प्राप्त स्पार्टा बटालियनका कमाण्डर भ्लादिमिर झोङ्गालगायतका अधिकारी समेत दोहोरो भिडन्तमा मारिएको समाचारमा उल्लेख छ । एजेन्सी

 

सम्बन्धित खबरहरु