काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउन अहिलेदेखि नै उम्मेदवारी घोषणा गर्न थालिएको छ ।

ओलीको विरुद्धमा अरु कोही नभएर नेकपा एमाले छोडेका पूर्वकेन्द्रीय सदस्य एवं पूर्व ताप्लेजुङ जिल्ला इन्चार्ज भाष्कर काफ्ले आउनु हुने भएको छ ।

उहाँ ओलीविरुद्ध चुनाव लड्ने सहमति र घोषणासँगै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

एमालेले लोकतान्त्रिक मूल्यमान्यता त्यागेको र पार्टीभित्र केपी शर्मा ओलीको अधिनायकवाद हाबी भएको भन्दै काफ्लेले एमाले त्यागेको घोषणा गर्नुभयो ।

पार्टीभित्र आन्तरिक एकताका लागि गरिएको प्रयत्न सफल नभएकाले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको उहाँले भनाई छ ।

‘एमालेभित्रै रहेर यसलाई लोकतान्त्रिक पार्टी बनाउन कोसिस गरियो तर चितवन महाधिवेशनबाट ओलीले पार्टीलाई अधिनायकवादतिर लगे ।

जनवर्गीय संगठनमा पनि चुनाव हुन नदिई खल्तीबाट नाम झिकेर पढ्न थालेपछि एमाले कम्युनिष्ट आन्दोलनका लागि अयोग्य भयो भन्ने निष्कर्षका साथ नयाँ यात्रामा लागेको छु’, काफ्लेले भन्नुभएको छ ।

एमाले विभाजनका बेला सनाखतमा अनुपस्थित भएर १० बुँदे पक्षधर बन्दै काफ्ले समाजवादीमा जानुभएन । तर एमालेको महाधिवेशनपछि उहाँ असन्तुष्ट बन्दै आउँनुभएको थियो ।

एकीकृत समाजवादीले उहाँलाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।

झापा क्षेत्र नम्बर २ का काफ्लेले आगामि निर्वाचनमा ओलीविरुद्ध चुनाव लड्ने घोषणा समेत गरिसक्नुभएको छ । ‘झापामा केपी ओली जुन क्षेत्रबाट चुनाव लडेपनि उहाँविरुद्ध उभिने संकल्प गरेको छु’, काफ्लेले भन्नुभएको छ ।

 

सम्बन्धित खबरहरु