काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा सहमति भएपछि चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ।

अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्री केसी र रविना थापाबीच सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको हो ।

अध्यक्ष पदका तीनैजना प्रत्यासीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति भएको बताउनुभयो ।

यसअघि देखिएका सबै विवाद समाधान गरी संघलाई एकजुट बनाएर लैजान आफूहरूबीच सहमति भएको उहाँहरूको भनाइ छ ।

अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ–आफ्नो कमजोरी स्वीकार गरेको बताउनुभयो । पछिल्लो सहमतिले संस्थालाई एकजुट बनाएको उहाँको भनाइ छ ।

अध्यक्षका उम्मेदवार एवम् संघका सल्लाहकार कुल आचार्यले संसारभरका नेपालीहरूलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो । पद भन्दा पनि पद्धतिका लागि एकजुट हुनु परेको उहाँको भनाइ थियो । संस्थालाई एकजुट बनाएर अगाडि अहिलेको आवश्यकता रहेको उहाँले औल्याए ।

अध्यक्षका उम्मेदवारद्वय केसी र थापाले पनि संस्था जोगाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।

सहमति अनुसार प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न अध्यक्ष पन्तले आग्रह गर्नुहुनेछ भने उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि पन्तले फिर्ता लिनुहुनेछ । त्यसैगरी असन्तुष्ट पक्षका तर्फबाट दायर मुद्दा पनि फिर्ता हुने पन्तले जानकारी दिनुभयो ।

 

सम्बन्धित खबरहरु