वार्ता गर्न गम्भीर भएनन् प्रधानमन्त्री,दाहाललाई भेट्न दबाब

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १५ माघ, २०७१
susil koiralaकाठमाडौं, १५ माघ ।
संविधान निर्माणको बहुमतीय प्रक्रिया अघि बढेपछि भडकेको एमाओवादीसहितको विपक्षी मोर्चालाई वार्तामा ल्याउन सत्तापक्षीय दलले जिम्मेवारी दिए पनि प्रधानमन्त्री सुशील कोइरालाले बुधबारसम्म गम्भीर पहल थालेका छैनन् ।प्रधानमन्त्रीको यस्तो सुस्तताप्रति सत्तारूढ कांग्रेस र एमालेका कतिपय नेताले असन्तुष्टि प्रकट गरेका छन् । कांग्रेसका केही नेताले कोइरालालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासै गएर भेट्नसमेत दबाब दिएका छन् ।

कांग्रेस, एमालेसहित संविधान निर्माणको प्रक्रियामा सहमत एघार दल र दुई स्वतन्त्र सभासदले सोमबार विपक्षी मोर्चासँग वार्ताको अग्रसरता लिन प्रधानमन्त्री कोइरालालाई जिम्मेवारी दिएको थियो । त्यसै दिन बिहान कोइरालाले दाहालसँग टेलिफोनमा कुरा गरे । त्यसयता उनले विपक्षी नेताहरूलाई भेटेका छैनन् । उनी बरु औपचारिक कार्यक्रममै व्यस्त भए ।

सत्तापक्षको सयुक्त वक्तव्यमा वार्ताबाटै समाधान खोज्न विपक्षी मोर्चालाई आग्रह गरिएको थियो । त्यसलाई एमाओवादीसहितको विपक्षी मोर्चाले ‘धम्कीपूर्ण’ भाषा भनेको थियो । बुधबार एमाओवादी संसदीय दलको बैठकले संविधानसभा र संसदीय समितिका कुनै समितिमा सहभागी नहुने निर्णय गर्‍यो ।

संविधान निर्माणमा बढेको राजनीतिक ध्रुवीकरण रोक्न प्रधानमन्त्रीले आवश्यक पहल नगरेको कांग्रेसका एक नेताले बताए । ‘संविधानसभाले प्रस्ताव समिति बनाउने निर्णय लिएकै दिनदेखि बिच्किएका विपक्षीलाई ट्रयाकमा ल्याउन प्रधानमन्त्रीले ढंग पुर्‍याउन सक्नु भएन,’ ती नेताले भने, ‘सार्वजनिकरूपमा आह्वान त गर्नुभएको छ । तर ठोस पहल गर्न सक्नु भएन ।’

एमाले उपाध्यक्ष भीम रावलले चाहिँ एमाओवादीसहितको विपक्षी मोर्चालाई वार्तामा फर्काउन प्रधानमन्त्रीले आवश्यक पहल गरिरहेको दाबी गरे । ‘प्रधानमन्त्रीले टेलिफोनबाट बार्ता गरिरहनुभएको छ । तर उहाँहरू (विपक्षी मोर्चा) को पोजिसन के हो भन्ने थाहा हुन सकेको छैन,’ उनले भने ।

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले विपक्षी मोर्चाको धारणा जान्न आफूहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए ।

‘संविधानसभा छाडेर जाने पोजिसन उहाँहरूको छैन । संविधानसभा र संसदीय समितिमा नजाने घोषणाले १२ बुँदेदेखि तय भएको राजनीतिक प्रक्रियालाई बाधा पार्छ,’ सिटौलाले भने, ‘यसबाट सबभन्दा ठूलो क्षति एमाओवादीलाई नै हुनेछ ।’

कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खडकाले विपक्षीहरूलाई सहमतिमा ल्याउन प्रधानमन्त्रीले वार्तालाई गम्भीर रूपमा अघि बढाउनुपर्ने बताए । ‘प्रधानमन्त्रीले अझै एग्रेसिभ भएर सहमतिका लागि पहल थाल्नुपर्छ,’ उनले भने ।

कानुनमन्त्री नरहरि आचार्यले बुधबार पनि कोइराला र दाहालबीच टेलिफोन वार्ता भएको बताए । ‘छलफल नभएको होइन, कुराकानी प्रारम्भ भएको छ । अलि खुला भएर वार्ता गर्ने मनस्थितिमा अझै विपक्षी देखिएका छैनन् । त्यसैले पनि औपचारिक वार्ता नभएको हुन सक्छ,’ उनले भने, ‘प्रचारात्मकभन्दा सार्थक ढंगले वार्ता सुरु गर्ने प्रधानमन्त्रीको कोसिस छ ।’

आचार्यले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग घोषणा गर्ने विषयमा मंगलबार एमाओवादी अध्यक्ष दाहालसँग भेटेका थिए । ‘प्रचण्डजी वार्तामा बस्न नकारात्मक हुनुहुन्न,’ उनले थपे, ‘अलिकति समय लाग्ने म देख्छु ।’कान्तिपुरमा खबर छ ।

सम्बन्धित खबरहरु