काठमाडौ । प्रकृतिले नसोचेको रुप लिन्छ । सामान्य जन्तु गँगटोले यतिसम्म गर्ला भन्ने कुरा सायद दुनियाँका कुनैपनि मानिसले सोचेका थिएनन् ।

तर क्युबा पछिल्लो समय गँगटो आतंकबाट पीडित बनेको छ । गँगटोका झुण्डले क्युबाका धेरै तटीय क्षेत्रमा आतंक मच्चाइरहेका छन् ।

यस्तो लाग्दछ कि मानिससँग बदला लिनका लागि गँगटाहरू समुद्रबाट बाहिर निस्किएर वस्तीमा छिरिरहेका छन् ।

रातो, कालो, पहेंलो तथा सुन्तलालगायतका विभिन्न रङका गँगटाहरूले खाडीदेखि सडकसम्म र जंगलदेखि घरसम्म हरेक ठाउँमा कब्जा गरिसकेको समाचार बाहिर आएको छ ।

बे अफ पिग्स हालको गँगटा आतंकबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यसपटक गँगटाहरू निकै छिटो निस्किए ।

जसको तयारी स्थानीय सरकार तथा सर्वसाधारणहरूले गरेका थिएनन् । गँगटाको लागि कोरोनाकाल सबैभन्दा लाभदायी समय थियो ।

कोरोनाकालमा भएको लकडाउनका कारण दुई वर्षसम्म मानवीय गतिविधिहरू लगभग बन्द भए । जंगल, समुद्री क्षेत्र, सडक आदि ठाउँमा मानिसको आवजावत बन्द भयो ।

गँगटाहरूलाई प्रकृतिले मौका दियो र स्वतन्त्रता पनि । यसले गँगटालाई यत्रतत्र फैलिन र अधिकतम प्रजनन गर्ने मौका दियो ।

जसका कारण क्युबामा गँगटाको संख्या अत्यधिक बढ्न पुग्यो । संख्यामात्र होइन गँगटाको आकार पनि निकै बढेको छ ।

क्युबाको वातावरण मन्त्रालयका वैज्ञानिक रिनाल्डो सन्टानाका अनुसार यो वर्ष गँगटा किन छिटो बाहिर निस्किए भन्ने कुराको खोजी भैरहेको छ ।

कोरोना कालमा गँगटाको संख्या बढेर यस्तो भएको हो वा अन्य कुनै प्राकृतिक कारणले हो ? भनेर वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् ।

क्युबामा वसन्तु ऋतुमा हुने वर्षाको मज्जा लिन आएका पर्यटकहरू यस वर्ष भयानक गँगटो आतंकका कारण पीडित बनेका छन् । एजेन्सी

 

सम्बन्धित खबरहरु