gas-line-5

काठमाडौं । खाना पकाउने एलपी ग्याँसको आपूर्ति हुन अझै  ८/१० दिन लाग्ने सरोकारवालाहरुले बताएका छन् ।

राजधानीको मिडिया इन्टरनेश्नलमा बिहीवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले ग्याँस आपूर्तिको परिणाम बढाइएको भन्दै ८/१० दिनमा ग्याँसको वितरण सहज बन्ने बताए ।

कार्यक्रममा नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले सञ्चार माध्यममा बाहिर भनिए जस्तो विचित्रताको स्थिति नभएपनि ग्यासको अभाव रहेको स्वीकार गरे ।

पछिल्लो पटक कार्यतालिका अनुसार ग्यास वितरण गर्ने प्रक्रियामा आयल निगमले अनुगमन पनि गरेको घिमिरेले बताए । उद्योगी, व्यापारी, वाणिज्य विभाग, निगम सबैको सहकार्यमा ग्यास अभाव सहजीकरण बनाउँदै लगिने उनको भनाई छ ।

वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले पछिल्लो पटक बढेको मागको सही मापन नभएको र निगमले पनि वैकल्पिक रणनीति अवलम्वन नगर्दा ग्यासको अभाव भएको उल्लेख गरे ।

आपूर्ति नबढाएसम्म सम्वन्धित निकायले एक अर्कालाई दोषारोपण गर्नु व्यर्थ हुने भन्दै कोइरालाले विभागले सक्दो अनुगमन गरिरहेको जानकारी दिए ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले निगमको व्यवस्थापनको कमजोरीले नै बेला—बेलामा उपभोक्ताले ग्यासको अभाव ब्यहोरेको टिप्पणी गरे ।

ग्यासको आयात बढाउनु नै समाधानको उत्तम विकल्प हुने घिमिरेको भनाई छ । ग्यासको खपत र आपूर्तिमा तालमेल नमिल्दा ग्यासको अभाव चर्किएको घिमिरेले उल्लेख गरे ।

ग्यास विक्रेता महासंघका महासचिव चन्द्रबहादुर थापाले जाडो सिजन सुरु हुनुअगावै राज्यले ग्यासको भण्डारण बढाउनुपर्ने र त्यहीं अनुरुप आपूर्तिका लागि तयारी गर्नुपर्ने बताए ।

ग्यासको आपूर्ति र विक्रिमा समय सान्दर्भिक नीतिको अभाव रहेको भन्दै यसमा सुधारको आवश्यकता औंल्याए । ग्याँसको सहज वितरणका लागि पुराना ग्यास कम्पनीलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित खबरहरु