काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकामाथि आफ्नो सरकारविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाउँदै आएका छन् ।

तर अब अमेरिकाले खानको आरोपको जवाफ दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकाले पाकिस्तानको संवैधानिक र लोकतान्त्रिक सिद्धान्तलाई समर्थन गर्ने बताएका हुन् ।

नेड प्राइसले सोमबार पत्रकार सम्मेलनमा भने, ‘हामीले गत हप्ता भनेझैं, हामी पाकिस्तानमा संवैधानिक र शान्तिपूर्ण लोकतान्त्रिक सिद्धान्तहरूलाई समर्थन गर्छौं ।’

उनले थप्दै भने, ‘हामी एउटा राजनीतिक दललाई अर्को राजनीतिक दलको विरुद्धमा समर्थन गर्दैनौं । हामी कानून अन्तर्गत समान न्यायको व्यापक सिद्धान्त, विधिको शासनको सिद्धान्तलाई समर्थन गर्दछौं ।’

प्राइसका अनुसार खानको आरोपमा कुनै सत्यता छैन । वास्तवमा इमरान खानले अमेरिकाले विपक्षीसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको बताएका थिए ।

अप्रिल ३ मा संसद विघटन हुनुभन्दा ठीक एक दिनअघि इमरान खानले हातमा एउटा कागज हल्लाउँदै भनेका थिए, ‘मैले तपाईलाई जे कुरा भन्दैछु, यो आधिकारिक दस्तावेजमा भनिएको छ ।’

खानका अनुसार पत्रमा विपक्षी दलले इमरान खानलाई हटाए अमेरिकासँगको सम्बन्ध राम्रो हुनेछ भनेर उल्लेख गरेका छन् । उनले भने, ‘तपाईंले (विपक्षी) इमरान खानलाई हटाउनेबित्तिकै हामी (अमेरिका) तपाईंलाई माफ गर्नेछौं ।’

यस क्रममा शाहबाज शरीफलाई निशाना बनाउँदै उनले भने, ‘यस षड्यन्त्रमा उनको (शाहबाज शरीफ) संलग्नता छ र शाहबाज अमेरिकाको दासत्वको लागि तयार छन् ।’

 

सम्बन्धित खबरहरु